Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


अनुमतिबिना अतिरिक्त सो चलाउने हललाई कारबाही सिफारिस


299
Shares

काठमाडौं । चलचित्र विकास बोर्डले अनुमतिबिना अतिरिक्त सो चलाउने तीनवटा फिल्म हललाई कारबाहीका लागि सिफारिस गरेको छ। बिनाअनुमति तोकिएको समयबाहेक अतिरिक्त सो चलाउन हल खोलेको जनाउँदै शुक्रबार बोर्डले तीन हललाई कारबाहीका लागि सिफारिस गरेको हो। बोर्डले बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई सिफारिस गरेको हो।

‘बिनाअनुमति मध्यरातमा अतिरिक्त सो चलाउने बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाहीका लागि सिफारिस गरिएको छ,’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने, ‘बोर्ड र प्रशासनबाट स्वीकृति नलिई ती फिल्म हलले मध्यरातमा अतिरिक्त दुई सो चलाएका थिए।’ बिग मुभिज, एफक्युज, बिएसआर मुभिजले मध्यरातमा दक्षिण भारतीय फिल्म ‘केजिएफ च्याप्टर–२’ फिल्म चलाएका थिए। तीन वटा फिल्म हलले तोकिएभन्दा बढी शुल्क लिएर बिनाअनुमति राति १ बजे र ३ बजेको अतिरिक्त सो राखेका थिए।

‘बोर्ड र प्रशासनको अनुमतिबिना कानुनविपरीत गएर रातभर अतिरिक्त सो चलाउने फिल्म हललाई कारबाही हुनुपर्छ,’ उनले भने, ‘टिकटमा शुल्क नतोकिएको, मदिरा सेवन गरेका दर्शकहरूलाई हलमा प्रवेश दिएको, बिहानको सोमा समेत छुट नदिएको र सिटभन्दा बढी दर्शकलाई हलभित्र प्रवेश गराएको लगायत गुनासो आएपछि बोर्डले आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीका लागि सिफारिस गरेको हो।’ बोर्डले बक्स अफिस सञ्चालन गर्ने सम्बन्धी कार्यविधि–२०७६ को फिल्म हल नियमनबमोजिम बक्स अफिस सञ्चालनमा रिर्पोटिङ गरेनगरेको र सफ्टवेयरअनुसार टिकेटिङ नगरेको फिल्महरूलाई कारबाहीका लागि सिफारिस गरिएको हो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।