Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


मुस्ताङमा ६८ विदेशी पर्यटक अलपत्र


0
Shares

मुस्ताङ । कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले लकडाउन जारी गरेसँगै मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका १२१ पर्यटकलाई दुई दिन गरी उद्धार गरी काठमाडौँ पठाइएको र बाँकी ६८ पर्यटक मुस्ताङमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तीन दिनको अवधिमा ती पर्यटकलाई उद्धार गरी काठमाडौँ पठाउने काम गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए ।

अमेरिका, फ्रान्स, जर्मन, इटाली, स्पेन, क्यानडा, पोर्चुगल, बेलायत, युक्रेन, न्यूजील्याण्डलगायतका मुलुकका पर्यटकलाई बसमार्फत पोखरा हुँदै काठमाडौं पठाइएको हो ।

मुस्ताङमा बाँकी रहेका अन्य पर्यटकको स्वास्थ जाँच भई मुस्ताङकै होटलमा राखिएको प्रजिअ अर्यालले जानकारी दिए ।

“कोरोनाको सतर्कतासँगै मुस्ताङ भित्रने सडकमा पूर्णरूपमा रोक लगाइएको छ, तर मनाङ भएर थोरङ्लापास गरेर आएका पर्यटक यही नै अलपत्र पर्न थालेपछि सम्बन्धित मुलुकका राजदूतावाससँगको समन्वयमा उनीहरुलाई उद्धार गरी पठाएका हौँ”, प्रजिअ अर्यालले भने ।

हाल बाँकी ६८ पर्यटकलाई अर्को सूचना नआउन्जेल मुस्ताङमै राखिने बताए ।  रासस

Skip This