काठमाडौं । जीवनको उत्तरार्द्धमा जिरिजाप्रसाद कोइरालाले छोरी सुजतालाई राजनीतिमा स्थापित गर्न चाहेका थिए ।कोइरालाको त्यो चाहना उनका गतिविधि र अभिव्यत्तिमा प्रस्टै देखिन्थ्यो । कोइरालाले दोस्रो जनआन्दोलन २०६३/०६३ पछि आफ्नै नेतृत्वको सरकारमा सुजतालाई उपप्रधानमन्त्री बनाए । कोइरालाले छोरी सुजतालाई इंकित गर्दै एउटा सार्वजनिक भाषाणमा ‘छिट्टै नेपालमा महिला प्रधानमन्त्री हुने’ भनेर अभिव्यक्ति समेत दिएका थिए । कोइरालाको जीवनकालमा सुजताको आकर्षक ओज थियो । सुजातालाई पार्टी वृत्तमा भ्याइनभ्याइ थियो। जहाँ गयो त्यहीँ कार्यकर्ता वरिपरि हुन्थे। बुवाको निधनपछि भने सुजाताको ओज चाउरिएको छ।
कोइरालामा जस्तै अहिले पनि राजनीतिक दलका शीर्ष तहका नेता सन्तान र आफन्त मोहमा लिप्त देखिन्छन्। पुष्पकमल दाहाल (प्रचण्ड) १० वर्षे सशस्त्र द्वन्द्वकालका चर्चित पात्र हुन्। त्यतिबेला उनको नाम नसुन्ने सायद कोही थिएन। माओवादीले सुरु गरेको सशस्त्र आन्दोलनका कमान्डर दाहाल शान्ति प्रक्रियामा आइसकेपछि पनि गुमनाम भएनन्, चर्चामै छन्। दुईपटक देशको प्रधानमन्त्री भए। त्यसबाहेक सातवटा सरकार बनाउन आफूले प्रमुख भूमिका निर्वाह गरेको दाहालले एक प्रसंगमा बताएका थिए। विभिन्न सरकार ढाल्न पनि उनको हात रह्यो।
लगातार तीन दशकदेखि राजनीतिक वृत्तमा चर्चित पात्र दाहालले गृह जिल्ला चितवनको एउटा कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको अघि आफ्नो नाम गौण भएको बताए। रेणु अध्यक्ष दाहालकी छोरी हुन्। दाहालले रेणुको बखान गर्दा पुत्रीमोह झल्किन्थ्यो, जुन छापामार युद्धको कमान्डर र क्रान्तिकारी नेताका लागि शोभनीय होइन।माओवादी केन्द्रका अध्यक्ष दाहालले त्यो कार्यक्रममा भनेका थिए, ‘२०७४ सालको निर्वाचनमा रेणु यहाँ आउँदा सबैले प्रचण्डकी छोरी भन्ने गर्थे। यद्यपि रेणुको आफ्नै त्याग, तपस्या थियो। रोल्पा, रूकुमजस्ता जिल्लादेखि भूमिगत रूपले जनयुद्धकालमा प्रवासका सहरमा काम गरेको उनको आफ्नै अनुभव थियो। म खुसी छ, अहिले आउँदा रेणु प्रचण्डकी छोरी होइन, रेणुको बुवा प्रचण्ड भएको छ।’ दाहालले छोरी रेणुको तारिफमा खर्चिएका शब्द यी पहिला र अन्तिम होइनन्।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्