Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


‘लकडाउन’को तेस्रो दिन जे देखियो…


0
Shares

नवीन शर्मा र भरत केसी (इमेज)

काठमाडौं, चैत १३ । सरकारले जारी गरेको ‘लकडाउन’को तेस्रो दिन पहिलो र दोस्रो दिनको तुलनामा प्रभावकारी रह्यो ।

मंगलबार र बुधबार काठमाडौं उपत्यकामा लकडाउनको अवज्ञा गर्दै केही सर्वसाधारण र सवारीको आवतजावतमा भएपछि सडकमा सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी–साधनको आवागमनमा रोक लगाएको छ ।

अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् । सडकमा अत्यावश्यकबाहेक अरु सवारी–साधन गुडेका छैनन् ।

उपत्यकाका विभिन्न स्थानमा दृश्य कैद गर्दै जाँदा भक्तपुरका केही स्थानहरुमा भने लकडाउनको अवज्ञा भएको पाइयो ।

लकडाउनको अवज्ञा गर्दै एम्बुलेन्स र खानेपानीका ट्यांकरमा समेत यात्रु आवतजावत गर्न थालेपछि प्रहरीले त्यस्ता सवारी–साधनलाई नियन्त्रणमा लिएको छ ।

यद्यपि, मंगलबार र बुधबारको तुलनामा भने आवतजावतमा कमी आएको ड्युटीमा रहेका नेपाल प्रहरीका असइ मनोज शाह बताउँछन् ।

मुख्य सडकहरु प्रायः सुनसान नै रहे पनि भित्रि सडक र गल्लीमा भने केही मानिसहरु आवतजावत गरेको पाइयो ।

अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतलाई रोक लगाउन खटिएका प्रहरीहरु पनि कोरोनाको संक्रमणबाट बच्न बिहीबारबाट विशेष सावधानी अपनाइरहेका छन् । प्रहरीहरु पञ्जा र मास्कसहित ड्युटीमा खटिएका छन् ।

आवतजावत गर्ने यात्रु र सवारी–साधनबाट करिब एक मिटरको दूरी कायम गर्दै प्रहरी ड्युटीमा खटिएका छन् ।

अहिले प्रहरी र स्वास्थ्यकर्मी कोरोनाभाइरसविरुद्ध सबैभन्दा बढी खटिएका छन् । सरकारले प्रहरी र स्वास्थ्यकर्मीलाई बिदा पनि दिएको छैन ।

कोरानाभाइरसको संक्रमण बढ्न नदिन २४ सै घन्टा ड्युटीमा खटिरहेका प्रहरी र स्वास्थ्यकर्मीहरुले बढी सावधानी अपनाउनुपर्ने देखिन्छ ।

प्रहरीले सकेसम्म सावधान भइ चेकजाँच गर्ने नीति लिएका भएपनि संक्रमणबाट बच्न आवश्यक पूर्वाधारको भने अझै कमी नै देखिन्छ ।

भिडियो हेर्नुहोस्