Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


चुनाव सारिए मुलुक दुर्घटनामा पर्ने


169
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले कुनै पनि बहाना देखाएर स्थानीय तहको निर्वाचन सार्न नमिल्ने बताएका छन्। उनले मंगलबार आयोजित एक कार्यक्रममा निर्वाचन सारिए त्यो मान्य नहुने बताए। पराजित मानसिकता बोकेका सत्ता गठबन्धनका नेताले निर्वाचन सार्नुपर्ने अभिव्यक्ति दिए पनि अब त्यो सम्भव नभएको उनले बताए। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताएका छन्।

निर्वाचन आयोगले निर्वाचनका सम्पूर्ण तयारी पूरा गरेको अवस्थामा निर्वाचन मिति सारिए त्यो निकै विवादित हुने देखिएको छ। सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनयता निरन्तर निर्वाचन सार्ने कुराको संकेत गरिरहेका छन्। उनले एकातिर वैशाख ३० को चुनाव अदालतबाट रोकिन सक्ने संकेत गरेका छन् भने अर्कोतिर नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको माओवादी निर्वाचनमा आउने भए पनि निर्वाचन सार्न सकिने बताएका छन्।

केही दिनअघि उनले २०७४ असोज २ मा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल पाँचवर्ष नपुगीकन वैशाख ३० मा स्थानीय निर्वाचन गर्र्दा उनीहरूमाथि अन्याय हुने तर निर्वाचन नसर्ने बताएका थिए। निर्वाचन आयोगले जिल्लामा निर्वाचन अधिकृत तोकिसकेको छ। मतपत्र छाप्ने काम पनि भइरहेको छ। निर्वाचन तयारीका लागि आयोगले करोडांै खर्च गरिसकेको अवस्था छ। संविधान र ऐनको व्यवस्थामा रहेर वैशाख ३० मा निर्वाचन गर्ने घोषणा गरिएकाले अहिले एकाएक निर्वाचन सार्ने चर्चा हुनुले राजनीतिक दलबीच अझै विश्वासको संकट रहेको बुझिन्छ। मतदानको दिन आउन अब एक महिना छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।