२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


आकांक्षी धेरै, तनावमा शीर्ष नेता


208
Shares

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा विभिन्न दलका शीर्ष नेता महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार छनोटको विषयलाई लिएर तनावमा छन्। उम्मेदवार बन्न हानथाप देखिएपछि कसरी सहमति जुटाएर टुंगो लगाउने भन्ने विषयमा दलका शीर्ष नेताहरू अलमलमा परेका हुन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी ९नेकपा एस० सबैले मेयर पदमा दाबी गरेपछि कसरी भागबन्डा गर्ने भन्ने समस्या देखिएको छ। प्रमुख प्रतिपक्षी दल एमालेमा पनि आकांक्षी धेरै भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको छ।

सत्ता गठबन्धन बनाउन मुख्य भूमिका निर्वाह गरेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कम्तीमा एउटा महानगरपालिका र एउटा उपमहानगरपालिकाको मेयर आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरिरहेका छन्। माओवादी केन्द्रले भरतपुरसहित कम्तीमा दुईवटा महानगरपालिकामा मेयर दाबी गरिरहेको छ। कांग्रेसले पनि भरतपुरको मेयरमा दाबी गरेपछि समस्या देखिएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा पनि गठबन्धनबीच कसरी तालमेल गर्ने भन्ने समस्या देखिएको छ।

कांग्रेसले सकेसम्म सबै महानगरपालिकामा उम्मेदवारी दिने बताए पनि आकांक्षी धेरै भएको बहानामा माओवादी, जनता समाजवादी पार्टी र नेकपा एसलाई एकएकवटा महानगरपालिका दिएर आफूले तीनवटा लिने तयारी गरेको छ। भरतपुरमा माओवादी केन्द्र, विराटनगरमा कांग्रेस, वीरगन्जमा जसपा, ललितपुर र काठमाडौं महानगरपालिकामा कांग्रेस र पोखरामा नेकपा एसले पाउनेगरी भागबन्डा गर्ने तयारी शीर्ष नेताहरूको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।