काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ । सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग गर्ने औपचारिक घोषणा गरेका छन् । सो घोषणासँगै एमालेले पाँच दलीय गठबन्धनलाई ‘बालुवाको लड्डु’को संज्ञा दिँदै आफूहरूलाई केही फरक नपर्ने टिप्पणी गरेको छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पाँच दलीय गठबन्धन बालुवाको लड्डुजस्तै भएकाले आफूहरूलाई कुनै फरक नपर्ने बताए । देशैभरि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले यस्ता गठबन्धनसँग पार्टीलाई कुनै फरक नपर्ने उनले बताए ।‘यो पाँच दलीय गठबन्धनसँग हामीलाई कुनै फरक पर्दैन । देशैभरिबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । यस्ता गठबन्धन एमालेका आगाडि टिक्नै सक्दैन । केही ठाउँबाहेक देशैभरि एमालेका उम्मेदवार सानदार मतकासहित विजयी हुन्छ,’ उपप्रमुख रिजालले राजधानीसँग भने ।
आगामी स्थानीय तहको निर्वाचनका लागि सत्तारूढ दल एकातर्फ छन् भने अर्कोतर्फ एमाले छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका छन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पाँच दलीय गठबन्धन गर्ने भनिए पनि उनीहरूकै बीचमा मतभेद रहेको बताइन् । एमाले एकढिक्का रूपमा अगाडि बढेको बताउँदै उपाध्यक्ष शाक्यले एमालेको अगाडि पाँच दलीय गठबन्धनको केही नलाग्ने भनाइ राखिन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्