बढ्दै पर्यटक : एक महिनामा ४२ हजार भित्रिए, ५ सय भन्दा बढीले लिए आरोहण अनुमति « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


बढ्दै पर्यटक : एक महिनामा ४२ हजार भित्रिए, ५ सय भन्दा बढीले लिए आरोहण अनुमति


247
Shares

काठमाडौं । वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौं संख्यामा विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् ।

कोभिड कहरपछि विस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनमा सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिक रूपमा बढिरहेको छ ।

वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न स्वदेशी तथा विदेशी पर्वतारोही धमाधम गन्तव्यतिर निस्किएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथामा २३ सहित विभिन्न ६१ हिमाल आरोहणका लागि ५ सय भन्दा बढी आरोहीले आरोहणको अनुमति लिएका छन् ।

बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२० का फाइनालिस्ट सेलीब्रेटी सेफ सन्तोस साहसहितको टोली यही चैत २४ गते नेपाल आएर नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसारमा निस्किएको छ ।

नेपाल पर्यटन बोर्डले देशका सातै प्रदेशमा डोमेस्टिक ट्राभल मार्ट गरिरहेको छ । सुदूरपश्चिम ट्राभलमार्ट चैत २५ गतेदेखि सुरु भएको छ । पर्यटकीय राजधानीको रूपमा कहलिएको पोखरामा १७औं फेवा महोत्सव चैत ३० गते देखि वैशाख १ गतेसम्म आयोजना हुँदैछ ।

नयाँ वर्षको सन्दर्भमा प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका होटलहरू यतिखेर आन्तरिक तथा विदेशी पर्यटकले भरिन थालेका छन् ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका होटल पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटक आउन थालेसँगै ठमेल क्षेत्रका व्यवसायीहरू उत्साहित छन् । नेपाल पर्यटन वोर्डका अनुसार मार्चमा मात्र हवाई मार्ग भएर ४२ हजार छ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०२२ को जनवरीदेखि मार्चसम्म ७८ हजार ७ सय ४७ विदेशी पर्यटक नेपाल आएका छन् । भारतीय पर्यटक सन् २०१९ को मार्चमाभन्दा सन् २०२२ को मार्चमा धेरै भित्रिएका छन् ।

होटल व्यवसायीको छाता सङ्गठन होटल सङ्घ नेपालले कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किंदै गरेको जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुपछि पर्यटन विस्तारै जुर्मुराउँदै गएको बताउनुभयो ।

पछिल्ला दिनमा पर्यटन क्षेत्रमा देखिएको गतिविधिले नेपालको पर्यटन सुरक्षित रहेको र पाहुनाको पर्खाइमा रहेको सन्देश दिइरहेको छ ।