Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


संक्रमति युवतीसँगै कतारबाट नेपाल आएकामध्ये १२५ जना नेपालीको पहिचान


0
Shares

काठमाडौं, चैत ११ । कोरोनाभाइरस संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा कतारबाट नेपाल आएकामध्ये १२५ जना नेपालीको ठेगाना पत्ता लागेको प्रहरीले जनाएको छ ।

उनीहरुको स्वास्थ्य जाँच र ‘क्वारेन्टाइन’मा राख्न आवश्यक प्रबन्ध मिलाउने व्यवस्था अघि बढाइएको बताइएको छ ।

यही चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् १९ वर्षीया ती युवती नेपाल आएकी थिइन् । त्यो दिन कतार एअरवेजका तीनओटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए ।

फ्रान्सबाट कतार हुँदै फर्किएकी ती युवती १५८ जना यात्री बोकेको क्यूआर ६५२ उडानमार्फत् आएकी थिइन् ।

उनी नेपाल आएको दिन क्यूआर ६५०, क्यूआर ६५२ र क्यूआर ६५३ गरी कतार एअरवेजले तीनओटा उडान गरेको र तीनओटै उडानका सबै यात्रीको विवरण प्रहरीलाई उपलब्ध गराएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले बताए ।

विभिन्न जिल्लामा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारेन्टाइनजस्ता थप सतर्कता अपनाउन प्रहरीले मातहतका निकायलाई पत्राचारसमेत गरेको छ ।

सोमबारमात्र स्वास्थ्य मन्त्रालयले नेपाल फर्किएकी ती युवतीमा कोरोनाभाइरस संक्रमण देखिएको जनाएको थियो ।