Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


२५ जनाभन्दा बढी भेला हुन नपाइने नियमको स्वास्थ्य मन्त्रालयबाटै उल्लंघन


0
Shares

काठमाडौं, चैत १० । कोरोनाभाइरसको सक्रमणबाट जोगिने सबैभन्दा पहिलो उपाय व्यक्ति–व्यक्तिबीचको दूरी फराकिलो राख्नु हो भनिरहेकै बेला स्वास्थ्य मन्त्रालय आफैंले भने गम्भीर लापरबाही गरेको छ ।

सोमबार मध्याह्न एक युवतीमा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलन सामान्य अवस्थाकै झैं भीडभाडले भरिपूर्ण थियो । मात्रै उपस्थित अधिकांशले मास्क लगाएका थिए ।

सरकारले २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने नियम लागू गरेको छ ।

विश्व स्वास्थ्य संगठनले सानो समूहमा पनि कम्तीमा तीन फिटको दूरी कायम गर्नुपर्ने बताइरहेको छ ।

तर, स्वास्थ्य मन्त्रालयमा सरकारले तोकेको संख्याभन्दा कैयौं गुणा बढी मानिसहरु भेला भएका थिए ।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री ढकाल, मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालगायतका पदाधिकारीहरुको ठूलै डफ्फा उपस्थित रहेको देखिन्थ्यो ।

मन्त्रालयको हल स्वास्थ्य मन्त्रालयका पदाधिकारी, कर्मचारी, विश्व स्वास्थ्य संगठनका स्थानीय पदाधिकारी र पत्रकारले खचाखच भरिएको थियो ।

उनीहरु कसैले पनि न सरकारको नियमको पालना गरेका थिए न त विश्व स्वास्थ्य संगठनको चेतावनीकै ख्याल गरेका थिए ।

स्वास्थ्य मन्त्रालय आफैंले यस्तो लापरबाही गरेपछि अन्य निकाय वा सर्वसाधारणले के गर्लान् ? ‘माथि’ बस्नेहरुले सोच्नु पर्दछ ।