रसुवा । रसुवा प्रवेश गर्ने प्रमुख बेत्रावती नाका पनि नेपाल सरकारको अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।
विश्वव्यापी फैलिएको कोरोना कोभिड १९ संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै आज बिहानदेखि अत्यावश्यक सवारी साधनबाहेक अन्य दोहोरो आवतजावत गर्न बन्देज गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
यसैगरी सरकारी वा संस्थानका सवारी साधन, सार्वजनिक सवारी साधन जिल्लाभित्र वा बाहिर सञ्चालन गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको अनिवार्य स्वीकृति लिएर मात्र चलाउने व्यवस्था गरिएको छ ।
जिल्लाभित्रका मेला, पर्व, पूजा, गोष्ठी, सेमिनार, भेला, भेटघाट जस्ता जनभेला हुने कुनै पनि कार्यक्रम सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको छ ।
सरकारी तथा गैरसरकारी कार्यालयका सवारी साधन तथा एम्वुलेन्स सञ्चालनकर्ताले एम्वुलेन्स जुनसुकै बेला पनि प्रयोग हुने गरी तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
खाद्य पसल, तरकारी पसल, पानी उद्योग र पसल, औषधी पसल, पेट्रोल पम्प, ग्याँस पसल र होटेल लजहरूबाहेक अन्य पसल र व्यवसायहरू स्वस्फुर्त रूपमा पूर्ण बन्द गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्