अपडेट
काठमाडौं, चैत ८ । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६४ जना नेपालीलाई काठमाडौं ल्याएका छन् ।
अध्यागमन विभागकाअनुसार थाइ एअरवेज र एअर इन्डियाले नेपालले आवागमनमा प्रतिबन्ध लगाएका मुलुकमा रहेका नेपालीहरुलाई काठमाडौं उतारेका हुन् ।
उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा ‘क्वारेन्टाइन’मा राखिएको छ ।
यद्यपि, उनीहरु संक्रमित भए/नभएको पुष्टि भएको छैन ।
क्वारेन्टाइनमा पठाइएकामध्ये ७४ वर्षीया वृद्धासहित चारजना महिला र अन्य पुरुष रहेका छन् ।
क्वारेन्टाइनमा राखिएकाहरुलाई ‘काउन्सिलिङ’ गर्न कठिनाइ भएपनि सम्झाइ–बुझाइ गरेर राखिएको नेपाली सेनाका प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिए ।
क्वारेन्टाइनमा राखिएकाहरुको ‘स्वाब’ भने आइतबार संकलन गरिने भएको छ ।
परीक्षण ‘पोजेटिभ’ देखिए उपचारका लागि सहिद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु लगिनेछ ।
आफ्नै इच्छाले नेपाल फर्किएका उनीहरु क्वारेन्टाइनमा रहँदाको खर्च आफैंले व्यहोर्नुपर्नेछ ।
सरकारले शुक्रबार राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनैपनि यात्री नेपाल आउन नपाउनेगरी प्रतिबन्ध लगाएको थियो ।
साथै, यी मुलुकबाट अन्य मुलुकलाई ‘ट्रान्जिट’ बनाएर पनि यात्री आउन नपाउने सरकारले जनाएको थियो ।
सरकारले योसम्बन्धी परिपत्र विदेशी एअरलाइन्सहरूलाई पठाएको भएपनि त्यसको उल्लंघन गर्दै विदेशी एअरलाइन्सहरूले नेपाली नागरिकलाई ओसारेका हुन् ।
सरकारी निर्णय अटेर गरी काठमाडौंमा यात्री झार्ने एअरलाइन्स कम्पनीहरूलाई कारबाही गर्नका लागि नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराइसकेको अध्यागमन विभागले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्