Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


पशुपतिमा सोमबारदेखि विशेष पूजा नगरिने


0
Shares

काठमाडौं, चैत ८ । कोरोनाभाइरस (कोभिड–१९) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो ।

बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

कोषले भक्तजनसँग पूजाका लागि तोकिएको शुल्क लिएर विशेष रुद्राभिषेक गर्ने व्यवस्था गरेको थियो । विशेष पूजाका लागि धेरै भक्तजनको रुचि पनि बढ्दै गएको थियो ।

कोषका लागि आम्दानीको स्रोत पनि बनेको विशेष पूजा सो भाइरसको सतर्कता लागि २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने नियमका कारण स्थगित गरिएको हो ।

यसले पशुपतिको नित्य पूजामा कुनै प्रभाव नपर्ने उनले बताए ।

पशुपतिमा दर्शनका लागि आउने भक्तजनका लागि तीन मिटर परैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

पशुपति आउने सबै भक्तजनलाई अनिवार्यरुपमा मास्क लगाएर आउन पनि कोषले आह्वान गरेको छ ।

पशुपति मूल मन्दिरभित्र दर्शनका लागि छिर्ने भक्तजनलाई पश्चिम ढोकाअघि साबुन, पानी, स्यानिटाइजरलगायत सुरक्षाका उपाय पनि अवलम्बन भएको छ ।

यसैगरी, पशुपति क्षेत्रमा हुने ठूला यज्ञ पनि बन्द गरिएको छ ।

चैत ११ गतेदेखि हुन लागेको महारुद्रयाग पनि हाललाई स्थगित गरिएको छ ।

पशुपतिमा हुने गंगा आरतीमा शनिबारदेखि २५ जनाभन्दा कम मानिसमात्र सहभागी हुनेछन् ।

कोरनाको त्रास कम भएपछि हाल स्थगित गरिएका विशेष पूजालगायत यज्ञ, यागादि पनि गरिने जनाइएको छ । रासस