Logo २६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026


रुसी राष्ट्रपति पुटिन पदमा बस्न लायक नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणी


195
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र रुसबीचकाे युद्धमा रुसको रणनीतिक असफलता भएको दावी गर्दै राष्ट्रपति भ्लादिरमीर पुटिन पदमा बस्न लायक नभएको टिप्पणी गर्नुभएको छ ।

पोल्याण्डको राजधानी वार्साबाट रुस र युक्रेनबीचको युद्धमा प्रतिक्रिया दिदै राष्ट्रपति बाइडेनले यस्तो टिप्पणी गर्नुभएको हो । उता, अमेरिकी राष्ट्रपति ह्वाइट हाउसले भने अमेरिकाले रुसमा सत्ता परिवर्तन नचाहेको प्रष्ट पारेको छ ।

पुटिनबारे राष्ट्रपति बाइडेनको टिप्पणी आए लगत्तै विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले पुटिन पदमा बसेर उसका छिमेकी वा क्षेत्रीय देशहरु विरुद्ध शक्ति दुरुपयोग गर्न पाउँदैनन भन्ने आशय राष्ट्रपति बाइडेनको भएको ब्याख्या गरेको हो ।

यता, रुसी राष्ट्रपति भवन क्रेमलिनले बाइडेनको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै रुसी जनताले निर्वाचित गरेका पुटिनबारे निर्णय गर्ने बाइडेन को हुन भन्ने प्रश्न समेत गरेको छ । यसैबीच, युक्रेन युद्धमा रुसका अर्का सैनिक जनरल मारिएको दावी गरिएको छ । रुसी सेनाका संयुक्त कमान्डर लेफ्टिनेन्ट जेनेरल याकोभ रेजान्टसेभ युक्रेनको खेर्सननजिक युक्रेनी आक्रमणमा मारिएको दावी गरिएको हो ।

युद्धमा अहिलेसम्म रुसी सेनाका ७ जना उच्च अधिृकतहरु मारिइसकेको दावी पश्चिमा खुफिया एजेन्सीहरुले गरेका छन् । यसैबीच रुसी सेनाले युक्रेनको स्लावुटिच शहरमाथि कब्जा जमाएको छ । आणविक भट्टीमा कामदारहरु रहने गरेको शहरमा रुसी सेनाले चारैतिरबाट घेरा हालेको हो । जसका कारण सयौं कामदार मारमा परेका छन् ।

युक्रेनकाे किभ शहरमा रुसले गरेको बम प्रहारका कारण सो शहरका धेरै घरहरु समेत ध्वस्त भएका छन् ।