Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


शेखरका दुई चिन्ता : एमाले/माओवादी मिल्न सक्छन्, गठबन्धनले कांग्रेस आईको हाल हुन्छ


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दाबी गर्नुभएको छ ।

विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको कांग्रेस (आई)को हालत हुन सक्नेतर्फ सचेत हुन जोड दिनुभयो ।

‘एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा–गर्दा कांग्रेस आइको हालत नहोला भन्न सकिन्न,’ कोइरालाले भन्नुभयो, ‘गत १० वर्षको कांग्रेस आइ गठबन्धन गर्दागर्दै अहिले चारैतिर कमजोर भएको छ, यसलाई बुझ्नुपर्छ ।’

कोइरालाले गठबन्धनतर्फ जाने भन्दा पनि पार्टीको आन्तरिक मजबुतीलाई बलियो बनाउन जोड दिनुभयो ।

‘सबैभन्दा पहिला त पार्टीको आन्तरिक विषयलाई मजबुत र एकजुट बनाउनुपर्छ, त्यसो गर्न सके कांग्रेस बलियो हुन्छ । हुन त सभापतिज्यू त्यसमा लागिरहनुभएको छ,’ कोइरालाले अगाडि भन्नुभयो, ‘यो तमाम कांग्रेस कार्यकर्ताको भावना पोखिरहेको छ, यसलाई लत्याएर गठबन्धन–गठबन्धन भनिरहनु हुन्न ।’

एमाले र माओवादी विभाजन भएको अवस्थामा सोचपूर्ण रूपले निर्णय लिनुपर्ने अवस्था रहेको कोइरालाको भनाइ छ ।