शक्ति राष्ट्रको होडले क्षेत्रीय सुरक्षाको वातावरण प्रभावित बन्यो : प्रधानमन्त्री देउवा « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


शक्ति राष्ट्रको होडले क्षेत्रीय सुरक्षाको वातावरण प्रभावित बन्यो : प्रधानमन्त्री देउवा


169
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शक्ति राष्ट्रबीच आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखापरेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीर रूपमा प्रभावित भएको बताउनुभएको छ ।

शिवपुरीस्थित सैनिक कमाण्ड एन्ड स्टाफ कलेजमा आयोजित सातौं समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापनका अवसरमा उहाँले आर्थिक, राजनीतिक र रणनीतिक क्षेत्रमा पकड स्थापित गर्न शक्ति राष्ट्रबीच कडा प्रतिस्पर्धा चलिरहेको उल्लेख गर्नुभयो ।

देशको संवेदनशील भू–राजनीतिक अवस्थितिले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले त्यसतर्फ सचेत रहँदै मुलुकको हित र स्वार्थमा कुनै किसिमको आँच आउन नदिनेतर्फ सबै सजग र प्रतिबद्ध हुन आवश्वक रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउन अन्तर निकायबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले बहुआयामिक सुरक्षा चुनौतिको उचित व्यवस्थापनको लागि राजनीतिक, कूटनीतिक रणनीतिक तथा शैक्षिक वृत्तलगायत आमनागरिकमा समेत सामरिक धारणा र सोचको वृद्धि भई समग्रमा सामरिक संस्कृतिको विकास हुन जरुरी रहेको बताउनुभयो ।