Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


मानव अधिकार उल्लंघनका दोषीलाई उम्मेदवार नबनाउन आयोगको आग्रह


65
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनमा मानव अधिकार उल्लंघनका दोषीलाई उम्मेदवार नबनाउन आग्रह गरेको छ ।

आयोगको प्रदेश–१ शाखा कार्यालय खोटाङले विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख दलहरूलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो ।

निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा उम्मेदवारी तय गर्न, निर्वाचन प्रचार–प्रसारको क्रममा आयोजना गरिने कार्यक्रमहरूमा बालबालिकाको प्रयोग नगर्न पनि आयोगले आग्रह गरेको छ ।

यस्तै निर्वाचन अवधिमा हुने विभिन्न कार्यक्रममा घृणा, द्वैष फैलने जस्ता अमर्यादित किसिमका शब्दहरू कोही पनि उम्मेदवार तथा नेतृत्वबाट व्यक्त नगर्न, जारी आचार–संहिताका विशेषतः मानव अधिकारसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ पालना गर्न पनि आयोगले अनुरोध गरेको छ ।