काठमाडौं, चैत ४ । यही चैत ६ गतेदेखि सुरु हुने एसइई परीक्षा नरोकिने भएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अपील जारी गर्दै एसइई परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको र चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने बताएका हुन् ।
परीक्षामा देशभरका कुल चार लाख ८२ हजार २१९ विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ ।
पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन गरिने भन्दै मन्त्री पोखरेलले विद्यार्थीहरुलाई स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर ‘हेल्थ डेस्क’ राख्ने प्रबन्ध गर्न ७५३ ओटै स्थानीय तहहरुलाई भनिएको पनि बताएका छन् ।
शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई साबुन–पानीले हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान पनि आग्रह गरेको छ ।
मन्त्रालयले एसइईबाहेकका अन्य परीक्षा नलिन र नयाँ भर्ना पनि नगर्न आग्रह गरेको छ ।
कक्षा–१ देखि ९ सम्मको परीक्षा चैत ५ गते सकिँदै छ । परीक्षा सकिएपछि करिब ७० लाख बालबालिका घर–परिवारमै रहने पनि मन्त्रालयको भनाइ छ ।
परीक्षा सकिएपछि विद्यालयमा साँस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आमभेला नगर्न सबैमा पनि मन्त्रालयले आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्