रोमन आचार्य, नवीन स्थापित र विनोद बजगाइँ (इमेज)
काठमाडौं, चैत ४ । नेपाली कांग्रेसमा महाधिवेशनकेन्द्रित समूहगत तयारी तीव्र बनेको छ ।
पार्टीमा तेस्रो धारको रुपमा आफूलाई स्थापित गरेका पूर्वमहान्त्री कृष्णप्रसाद सिटौला समूहले सोमबार राजधानीमा समूह भेला गरेसँगै १४औं महाधिवेशनको सरगर्मी सुरु हुन थालेको हो ।
पार्टीभित्र आफ्नो भूमिका र महत्व बुझेका सिटौलाले १४औं महाधिवेशनकेन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।
१३औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई विजयी गराउन निर्णायक भूमिका खेलेका सिटौलाले आउँदो महाधिवेशनमा आफ्नो प्रभाव देखाउन सुरु गरेका छन् ।
केही समयअघि गृहजिल्ला झापा पुगेर सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरेका सिटौलाले सोमबार राजधानीमा आफूनिकटको बैठक डाकेर आगामी महाधिवेशनमा पनि आफ्नो पक्षको उपस्थितिलाई बलियो बनाउन खोजेका छन् ।
गत पुसमा भएको केन्द्रीय कार्यसमितिको बैठकमा यो समूह देउवाविरोधी खेमामा उभिएको थियो ।
तर, सभापति देउवाले भर्खरै विस्तार गरेको विभाग र आमन्त्रित केन्द्रीय सदस्यमा भागबन्डा मिलेपछि सिटौला समूह पुनः देउवानिकट बनेको विश्लेषण भइरहेको छ ।
सो समूहको सोमबारको बैठकलाई पनि ‘बार्गेनिङ’ अस्त्रको रुपमा विश्लेषण गरिएको छ ।
महामन्त्री भइसकेका सिटौलाको चाहना पार्टीको बागडोर सम्हाल्ने देखिन्छ । पार्टीका स्व. नेता गिरिजाप्रसाद कोइरालाको ‘लिगेशी’ धानेको दाबी गर्ने सिटौलाले पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका छन् ।
तर, सिटौला समूहमा रहेका युवा नेता प्रदीप पौडेल सोमबारको बैठकलाई बार्गेनिङको रुपमा नबुझ्न आग्रह गर्छन् ।
केही दिनअघि महामन्त्री शंशाक कोइरालाले देउवालाई खुलापत्र लेख्दै उनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । विभाग गठन र विस्तारको विषयमा संस्थापनइतर पक्ष रुष्ट छ ।
पौडेल खेमाबाट वरिष्ठ नेता पौडेलमात्र होइन, शेखर कोइराला, प्रकाशमान सिंह पनि नेतृत्व हत्याउने दौडमा लागेका छन् ।
युवा नेतृत्वलाई साथमा लिएका सिटौलाले बार्गेनिङ बढाइरहँदा कांग्रेसभित्र महाधिवेशनको रस्साकस्सी बढेको छ ।









प्रतिक्रिया दिनुहोस्