मीरा बस्नेत र विशाल लामा (इमेज)
काठमाडौं, चैत ४ । विगत ५० वर्षदेखि पूर्ण शारीरिक अशक्तता भएका व्यक्तिहरुको सहाराको केन्द्र बन्दै आएको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र पछिल्लो समय भने आफैं अपाङ्गताको अवस्थाबाट गुज्रिरहेको छ ।
शारीरिक अपाङ्गता भएकाहरुलाई विशेषज्ञ सेवा र उचित सुविधा दिने उद्देश्यले विक्रम संवत् २०२६ सालमा स्थापना भएको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र अहिले भताभुंग अवस्थाबाट गुज्रिएको छ ।
यहाँ बस्ने अपाङ्गत भएका व्यक्तिहरुले औषधि उपचारको सुविधासमेत पाउन सकेका छैनन् । न त उनीहरुले पोषणयुक्त खान पाएका छन्, न त उचित बासस्थानकै व्यवस्था छ ।
यतिसम्म कि बिरामीले पिउने पानीसमेत आफैंले किन्नुपर्ने अवस्था छ ।
विशेषतः ‘स्पाइनल इञ्जुरी’ र अन्य गम्भीर खालका शारीरिक अपाङ्गता भएकाहरुलाई राख्ने गरिएको यस संस्थामा अहिले भने मानसिक रोगीहरुलाई समेत राख्न थालिएको छ ।
शारीरिक अपाङ्गता भएका ५४ र २१ जना मानसिक रोगी गरी ७५ जना अहिले यहाँ रहेका छन् । तर, यिनीहरुको रेखदेखका लागि १० जनामात्र कर्मचारी छन् भने दक्ष जनशक्तिको पनि उत्तिकै अभाव छ । जसका कारण बिरामीहरु एकार्काको सहारामा बस्न बाध्य छन् ।
अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने चिकित्सक, नर्सहरुसमेत केन्द्रले उपलब्ध गराउन सकेको छैन । ७५ जनाको रेखदेखका लागि एकजनामात्र नर्सको व्यवस्था छ ।
९ वर्षदेखि केन्द्रमा बस्दै आएका कृष्ण खड्का ९ महिनादेखि केन्द्रमा ‘फिजियोथेरापिष्ट’ नहुँदा फिजियोथेपरापी सुविधा पाउन नसकेको बताउँछन् ।
शारीरिक अपाङ्गता र मानसिक रोगी नितान्त फरक समस्या हो । तर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानसिक रोगीहरुलाई यहाँ ल्याएर अलपत्र अवस्थामा छाडेको छ । मानसिक रोगीहरुको परामर्शको लागि न त कुनै सम्बन्धित चिकित्सक नै छन् ।
विगत ३१ वर्षदेखि केन्द्रमा बस्दै आएका टीकाराम ढुङ्गानाले दक्ष जनशक्ति र आवश्यकताअनुसार कर्मचारी नहुँदा बिरामीहरु झन् पीडित बनेको बताउँछन् ।
अर्का पीडित मोहनबहादुर खत्री पनि केन्द्रमा उचित रेखदेख र उपचारको सुविधा नरहेको बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्