२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024


शिक्षा क्षेत्र सुधार्न सके मात्र अन्य क्षेत्र सुधारिन्छ : मन्त्री पौडेल


182
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रलाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रमा सुधार आउने बताउनुभएको छ ।

बुधवार निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन, नेपाल(प्याब्सन)को १५औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न सकेमा अन्य क्षेत्रमा स्वत्ः सुधार हुने बताउनुभयो ।

देशको समृद्धिको निम्ति शिक्षा पहिलो ढोका भएको उल्लेख गर्दै उहाँले शिक्षामा सुधार गर्ने देशहरूले मात्रै अन्य क्षेत्रमा प्रगति गर्न सकेको बताउनुभयो ।

मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएको उल्लेख गर्दै शिक्षालाई देशको समृद्धिको निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पौडेलले देशलाई सक्षम जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक रहेको बताउनुभयो । शिक्षालाई सिपमा बदल्दै रोजगारसँग जोड्ने शिक्षा आवश्यक रहेको उहाँको भनाई छ । उहाँले व्यवहारिक, वैज्ञानिक र उत्पादनमूलक शिक्षा हुनेगरी पाठ्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले शिक्षामा संरचनागत र नीतिगत सुधार आवश्यक रहेको भन्दै त्यसको सुधारका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो ।