Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


भारतीय प्रहरी विनाअनुमति पोसाकसहित दैलेखमा


0
Shares

दुल्लु, चैत ४ । चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोसाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् ।

दैलेखकै एक युवकले भारु ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोसाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन् ।

मंगलबार बिहान पोसाकसहित जिल्ला सदरमुकाममा निस्फिक्री हिँडिरहेका भारतीय प्रहरी पोसाकसहित जिल्ला प्रहरी कार्यालय दैलेखमा गएका थिए । 

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अहिले सोही विषयलाई लिएर छलफल भइरहेको जानकारी दिए ।

भारतीय प्रहरी स्थानीय प्रशासन र प्रहरीलाई कुनैपनि जानकारी नदिइ दैलेख आएको पाइएको छ ।

उनीहरुले बिहानमात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरु दैलेख आएको जानकारी गराएका थिए ।

भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा तीन प्रहरीसहित चारजनाको टोली दैलेख आएको हो ।

भारत, हरियाणा प्रदेश यमुनानगर जिल्लाबाट तीन प्रहरीसहितको चारजनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

भारतमा काम गर्दै आएका दैलेखका एक युवक झन्डै रु ५० लाख चोरी गरी फरार भएपछि खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी गराएका छन् ।

‘उनीहरुले पोसाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि हामीले सादा पोसाकमा हिँड्न भनेका छौं’–प्रहरी निरीक्षक आचार्यले भने–‘भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छैन । उनीहरु हाम्रो सम्पर्कमा आफैं आएका हुन् ।’

प्रदेश नम्बर–५ र कर्णाली प्रदेश हुँदै सदरमुकाममा भारतीय प्रहरी सूचना र अनुमतिविना नेपाल आउनु आपत्तिजनक भएको नेपाल मजदूर किसान पार्टीका जिल्ला कमिटी सचिव लक्ष्मी विकले बताए । रासस