बिराज रोस्यारा (इमेज)
कैलाली, चैत ३ । कैलालीको मोहनापुल–अत्तरिया सडकखन्डमा जथाभावी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
सडकको दुवै छेउमा सडक नै अवरुद्ध हुनेगरी ट्यांकर पार्किङ गरिँदा यात्रीहरु र व्यवसायीसमेत हैरान भएका हुन् ।
नेपाल आयल निगमका ट्यांकर मोहनापुल–अत्तरिया ६ लेन सडकखन्डको दुवै छेउमा जथाभावी पार्किङ हुँदा सवारीचालक, यात्री तथा व्यवसायीलाई समस्या भएको छ ।
६ लेनको सडक भएपनि दुवैतिर ट्यांकर पार्किङ हुँदा साँघुरो भएपछि आवत–जावतमा कठिनाइ र सवारी दुर्घटना पनि बढाएको हो ।
अति प्रज्ज्वलनशील पदार्थ भरिएका ट्यांकर जथाभावी पार्किङमा राख्दा आगलागीका घटना हुने भएकाले यसलाई तत्काल व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।
पार्किङले दैनिक आवत–जावत गर्नेहरुलाई मात्र नभइ स्थानीय घरधनी तथा व्यवसायी पनि समस्यामा छन् ।
दैनिक व्यापार–व्यवसाय चल्ने ठाउँमा पार्किङ गर्दा व्यवसायमा समेत समस्या परेको उनीहरुको भनाइ छ ।
अव्यवस्थित पार्किङ गर्दा अप्रिय घटना हुने भएकाले बजारबाट टाढा यसको व्यवस्थापन गर्नुपर्ने व्यवसायी रञ्जन शर्माको भनाइ छ ।
यता, नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सर्पराज शर्मा भने एक वर्षदेखि उपयुक्त ठाउँको खोजी गरे पनि उपलब्ध हुन नसकेकोे दाबी गर्छन् ।
डिपोभित्र पर्याप्त जमिन नभएकाले सडकमै ट्यांकर राख्नुपरेको तर उपयुक्त ठाउँको खोजी भने तीव्ररुपमा भइरहेको उनको भनाइ छ ।
नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयसँग अहिले ८० ओटा ट्यांकरहरु छन् ।
सडकमा पार्किङ गरेर राखिएका ट्यांकरहरु हटाउन सडक विभाग, जिल्ला प्रशासन तथा ट्राफिक प्रहरीलेसमेत पत्र पठाइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्