काठमाडौं । पशुपति मन्दिरमा भट्ट नियुक्त हुँदा ११ शिवलिङ्गको दर्शन गरेर मात्रै मन्दिर प्रवेश गर्नुपर्ने नियम छ ।
ती ११ शिवलिङ्गमध्ये हाल चार वटा व्यक्तिगत घरभित्र परेकाले अरू दशनार्थी मात्रै होइन स्वयम् भट्टले दर्शन गर्न पाइरहेका छैनन् ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमितिको आइतबार बसेको वैठकमा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य–सचिव चेतोनाथ गौतमले लिच्चछवीकालमा नै यी शिवलिङ्ग बनेकाले घरहरु पछि बनेका सहज अनुमान गर्न सकिने बताए ।
पशुपति क्षेत्रमा रहेका कतिपय स्मारकको संरक्षण हुन नसकेको उनले बताए । कोषको क्षेत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै व्यक्तिगत घर, सडकलगायतका संरचनाका कारण संरक्षण गर्न कठिन भएको हो ।
कतिपय मन्दिर घरहरुबीचमा घेरिएको, कतिपय भूकम्पका समयमा क्षति हुँदा पुनःनिर्माण हुन नसकेका र कतिपय सत्तल संरक्षण आवश्यक रहेको कोषले जनाएको छ ।
कोषले यस क्षेत्रको आगामी एक सय वर्षका लागि गुरुयोजना बनाउन लाग्दा यहाँ जग्गाको पुनःनापी गर्नुपर्ने र स्मारकको संरक्षण आवश्यक भएको जनाएको छ । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले यस क्षेत्रमा पहिले धेरै किसिमका जात्रा, पर्व सञ्चालन भए पनि अहिले कतिपय हराउन थालेका बताए ।
मन्दिरसँगै आस्थाका हिसाबले जोडिएको वाग्मती नदी फोहर भएकाले यसको सफाइ पनि आवश्यक भएको उनको भनाइ छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत यस क्षेत्रको विकासमा विभिन्न निकायबीच समन्वय आवश्यक भए पनि अभाव देखिएको छ ।
यस क्षेत्रमा जुनसुकै समस्या देखिँदा पहिले सबैले कोषलाई भन्ने गरे पनि धेरै कुरा कोषको अधिकार क्षेत्रमा पर्दैन । मन्दिरको जग्गा अहिलेसम्म कोषका नाममा नभएकाले त्यसलाई ल्याउन लागिएको छ ।
उनले भने, “यहाँका कतिपय मन्दिर, सत्तल, जात्राहरु पनि कतिपय गुठीको त कति पुरातत्वको स्वामित्वमा छ ।”
कोषका पूर्वसदस्य–सचिव गौतमले यस क्षेत्रमा कतिमा मन्दिर भएका मूर्ति नभएको, कतिमा मूर्ति भएका मन्दिर नभएका र कतिपयमा दुवै भए पनि नियमित पूजाआजा नभएको बताए ।
यहाँ रहेका कतिपय निजी गुठीका मन्दिरमा नियमित पूजा नहुँदा कोषले नै त्यसको व्यवस्था गरिरहेको छ ।
चक्रपथको चावहिल–गौशाला सडक विस्तारका क्रममा यहाँका धेरै स्मारकलाई नोक्सानी पुग्नसक्ने देखिएको उनले बताए ।
यहाँका सडकलाई हलुका सवारीसाधन चल्ने सडकका रुपमा विकास गरी वैकल्पिक सडकको खोजी गरिनुपर्ने उनले बताए ।
सबैभन्दा ठूलो समस्याका रुपमा बहुस्वामित्व रहेको उनले औँल्याए । गौशालास्थित प्रहरी कार्यालयले यो क्षेत्रसँगै अरू हेर्नुपर्ने हुँदा पर्याप्त ध्यान दिन नसकिरहेको उनको भनाइ छ ।
उनले भने, “पशुपतिमा बिहान सबेरैदेखि साँझसम्म मन्दिर, घाट र जङ्गल क्षेत्रमा मानिस हुने भएकाले व्यवस्थापनका लागि प्रहरीको छुट्टै सेल खडा गर्नुपर्छ ।”









प्रतिक्रिया दिनुहोस्