श्रीलंका सरकारले कागज खरिद गर्न नसक्दा लाखौं विद्यार्थीको परीक्षा स्थगित « Imagekhabar – Online News Portal of Nepal


श्रीलंका सरकारले कागज खरिद गर्न नसक्दा लाखौं विद्यार्थीको परीक्षा स्थगित


676
Shares

काठमाडौं । श्रीलंका सरकारसँग कागज किन्ने पैसा नहुँदा लाखौं विद्यार्थीको परीक्षा स्थगित गरिएको छ ।

केही महिनादेखि विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंकाले कागज आयात गर्न नसक्दा परीक्षाको प्रश्नपत्र समेत छाप्न नपाउँदा परीक्षा रद्द गर्नुपरेको हो । त्यहाँको शिक्षा मन्त्रालयले पश्चिम श्रीलंकाका विद्यालयहरुले भोलि (सोमबार) देखि लिने तयारी गरेको परीक्षा स्थगित गर्ने जनाएकाे छ ।

यो निर्णयबाट पश्चिमी प्रान्तका कक्षा ९, १० र ११ मा पढ्ने करिब ४५ लाख विद्यार्थी परीक्षा दिनबाट बञ्चित हुनेछन् । व्रिटिस उपनिवेशबाट मुक्त भएपछिको सबै भन्दा ठूलो आर्थिक संकटमा फसेको श्रीलंकामा खाद्यान्न, इन्धन र औषधिको समेत अभाव हुने अवस्था आईसकेको छ ।

श्रीलंकालाई ठूलो ऋणको भारी बोकाउने चीनसँग हारगुहार गरेपनि चीनले अहिलेसम्म चासो दिएको छैन । बरु भारतले गत महिना १ अर्ब डलरको सहयोग श्रीलंकालाई गरेको थियाे । अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलंकाको संकट टार्ने प्रस्तावमा विचार भईरहेको जनाएको छ ।

श्रीलंकाले यसै वर्षभित्र भण्डै ७ अर्ब डलरको ऋण तिर्नुपर्ने छ । तर उसँग २ अर्ब डलरको मौज्दात समेत नरहेको जनाएकाे छ ।