Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


‘सार्क’ ब्युँतने आशा


0
Shares

रोमन आचार्य (इमेज)

काठमाडौं, चैत १ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को भूमिका र भविश्य भारत र पाकिस्तानबीचको तिक्ततापूर्ण सम्बन्धका कारण ओझेलमा परेको छ ।

यही विवाद र तनावकै कारण स्थापनाको ३५ वर्ष गुजारी सकेको सार्कको १९औं शिखर सम्मेलन तीन वर्षदेखि अनिश्चित छ ।

तर, अहिले भारतले ‘कोरोनाभाइरस’को बढ्दो संकटसँग जुध्न त्यही सार्कको आवश्यकता महसुस गरेको छ ।

दक्षिण एसियाली क्षेत्रबाट अभाव, अशिक्षा र गरिबी उन्मूलन गरी यस क्षेत्रका नागरिकमा सामूहिक आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले सन् १९८५ डिसेम्बर ८ मा सार्क स्थापना भएको हो ।

नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्स संस्थापक रहेको यो संगठनमा अहिले अफगानिस्तान पनि सदस्य छ ।

तर, भारत–पाकिस्तान बिग्रँदो सम्बन्ध तथा भारतकै अग्रसरतामा स्थापित ‘बिम्स्टेक’को प्रभावमा सार्क अहिले निस्क्रियजस्तै बनेको छ ।

२०७३ सालमा पाकिस्तानमा हुनुपर्ने १९औं शिखर सम्मेलन भारतकै कारण बिथोलिएपछि सार्कको औचित्यमाथि प्रश्न उठेको छ ।

सार्कको औचित्यमाथि प्रश्न उठाइरहेको भारतले अहिले सार्कको आवश्यकता महसुस गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार ट्वीट गर्दै कोरोनाभाइरसविरुद्ध लड्न सदस्य राष्ट्रबीचको भूमिका खोजेपछि सार्क अब ब्युँतिन्छ कि भन्ने झिनो आशा जागृत भएको छ ।

भारतको रणनीतिअनुसार बिम्स्टेक सार्कको विकल्पमा हो । जसमा पाकिस्तान सदस्य छैन ।

यता, सार्ककको सचिवालय काठमाडौंमा छ र बिम्स्टेकको सदस्यसमेत रहेको नेपाल अहिले सार्कको अध्यक्ष मुलुक पनि हो ।

यो अवस्थामा १९औं शिखर सम्मेलनका निम्ति नेपालले सबै सदस्य मुलुकलाई एउटै विन्दुमा ल्याउन भूमिका खेल्न सक्छ ।

सार्क बडापत्रअनुसार नियमित शिखर सम्मेलन भइदिएको भए कम्तीमा ३० ओटा शिखर बैठक भइसक्ने थिए । तर, नेपालमा सम्पन्न १८औं शिखर सम्मेलनपछि सार्कको भविश्य नै अन्योलमा परेको छ ।

तर, मोदीको पछिल्लो आह्वानपछि पाकिस्तानलेसमेत सकारात्मक प्रतिक्रिया जनाएकाले नेपालले प्रभावकारी कूटनीतिक क्षमता देखाउन सक्छ ।

स्थापनाकालीन उद्देश्य र अपेक्षाबाहिर गइरहेको बेला अहिले कोरोना त्रासकैबीच भारतले यसको आवश्यकता महसुस गरेको छ । जसलाई सदस्य राष्ट्रहरुले अवसरका रुपमा प्रयोग गर्न सक्छन् । 

Skip This