Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


कांग्रेसमा सभापतिको उम्मेदवार बन्न आधा दर्जन बढी नेताहरुको दौडधुप


0
Shares

रोमन आचार्य र लक्ष्मण डंगोल र विशाल लामा (इमेज)

काठमाडौं, फागुन २९ । मुलुकको पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको १४औं महाधिवेशन २०७७ साल फागुन महिनामा हुँदैछ ।

महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुन आठजना नेताहरु आन्तरिक तयारीमा जुटेका छन् ।

वर्तमान सभापति शेरबहादुर देउवाले फेरि पार्टी सभापति हुनेगरी आफ्नो गतिविधि अगाडि बढाइरहेका छन् । देउवाले आफ्नो खेमाबाट एकल उम्मेदवारीको चाँजोपाँजो मिलाइरहेका छन् ।

तर, उनकै खेमाका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले भावी सभापतिमा चाहना राखेको पाइन्छ ।

उसो त देउवाकै कारण गत आमनिर्वाचनमा पार्टीको लज्जाजनक पराजय भएको, सरकारविरुद्ध प्रतिपक्षी भूमिका खेल्न नसकेको र पार्टीलाई एकताबद्ध बनाउनुको साटो गुट बलियो बनाउन लागेको आरोप लगाउँदै आएको अर्को खेमा देउवालाई अबको नेतृत्वमा आउनै नदिने कसरतमा लागेको छ ।

१३औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो खेमाको तर्फबाट सभापतिमा पुग्ने कसरत गरिरहेका छन् ।

तर, उनकै खेमाबाट महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह सभापति बन्ने कसरतमा जुटिरहेका छन् ।

उसो त १३औं महाधिवशेनमा सभापतिको उम्मेदवार बनेर पराजित भएका नेता कृष्णप्रसाद सिटौला पार्टी सभापतिमा फेरि उम्मेदवारी दिने बताइरहेका छन् ।

कांग्रेसको भावी सभापति बन्न नेताहरुको आन्तरिक कसरत चलिरहेको सन्दर्भमा कांग्रेसलाई निकटबाट चिनेका राजनीतिक विश्लेषक किशोर नेपाल अबको नेतृत्व ६० वर्षमुनिका नेताबाट ल्याउनु उचित हुने ठान्छन् ।

नेपालले देउवा खेमाबाट उपसभापति निधि र पौडेल खेमाबाट डा. शशांक कोइरालाको सम्भावना औंल्याएका छन् ।

अर्का राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बराल अलि फरक सम्भावना देख्छन् ।

देशको लोकतान्त्रिक पार्टी कांग्रेसको नेतृत्वमा आउन अनेक चलखेल र जालझेल हुने गरेका छन् ।

कांग्रेसलाई सशक्त दलको रुपमा उभ्याउने हो भने परम्परागत नेतृत्वबाट सम्भव छैन भन्ने विश्लेषकहरुको मतसँग असहमत हुन सकिन्न ।

नेतृत्वमा को पुग्नेभन्दा पनि कांग्रेसलाई जनताको भरोसायोग्य पार्टीको रुपमा उभ्याउनु आजको आवश्यकता हो ।

भिडियो हेर्नुहोस्

Skip This