Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


भक्तपुरमा पृथक होली, यौन, प्रेम र सद्भाव (भिडियो)


0
Shares

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)

भक्तपुर, फागुन २६ । भक्तपुरमा भिन्नै प्रकारले होली मनाउने गरिन्छ ।

दत्तात्रय मन्दिरसँगै रहेको भीमसेन मन्दिरको होली अन्यत्रकोभन्दा फरकखालको हुने गर्दछ ।

भक्तपुरमा हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पर्व सुरू हुने गर्दछ ।

काठको लिंगलाई भीमसेनको जनेन्द्रीय र रातो कपडाको योनीलाई द्रौपदीको जनेन्द्रीयको रूपमा लिने गरिन्छ ।

मन्दिरभित्र झुन्ड्याएका यी जनेन्द्रीयलाई जुधाएपछि होली सुरु भएको मानिन्छ ।

होलीको एक हप्ताअघिदेखि नै भक्तपुरका स्थानीयहरू द्रौपदी र भीमसेनको जनेन्द्रीयलाई एकापसमा जुधाएर पारिवारिक सुख, दीर्घायु र व्यापार सफलताको कामना गर्ने गर्दछन् ।

स्थानीयवासीहरु ‘भीमसेनको जनेन्द्रीय देखेर लोभ लाग्यो कि’ भनेर यौन र प्रेमरसको गीतसमेत गाउँछन् ।

त्यसैले होला, ७७ वर्षीय सिद्धिराम प्रजापतिको यौन र प्रेमको उमंग यो उमेरमा पनि मेटिएको छैन ।

फागुपूर्णिमाको दिन युवाहरू मन पराएकी केटीको घरको आँगनमा गइ गीत गाएर प्रेम प्रस्ताव गर्ने र केटीले स्वीकार गरेमा अबीर गालामा लगाइदिने तथा मन नपराए टाढैबाट अबीर छर्केर फर्कने चलनसमेत रहेको छ ।

त्यसैले युवा–युवतीमात्र होइन, अर्धवैंशेहरुसमेत यस दिन रमाइलो गर्ने र ‘रोमान्टिक’ परम्परागत गीतसमेत गाउँछन् ।

फागुपूर्णिमाको रात काठको लिंगलाई ब्रह्मायणी नदीमा लगेर पखालेपछि भक्तपुरमा होली विधिवत् समापन हुने गर्दछ ।

मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले भनेका छन्–‘हाम्रा हरेक क्रियाकलाप अचेतन मनमा रहेको यौन मनोविज्ञानसँग जोडिएका छन् ।’ फागुपूर्णिमा पनि यौन, प्रेम र सद्भावसँग जोडिएको छ ।

त्यसैले अनुशासित भएर यो पर्व मनाउँदा परम्पराको पनि जर्गेना हुने, सामाजिक सद्भाव पनि बलियो हुने गर्दछ ।

भिडियो हेर्नुहोस्