२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


उत्तर कोरियामा ‘क्वारेन्टाइन’मा राखिएका विदेशीले प्योङयाङ छाडे


0
Shares

काठमाडौं, फागुन २६ । उत्तर कोरियामा केही हप्तादेखि ‘क्वारेन्टाइन’मा राखिएका करिब ६० जना विदेशी कूटनीतिज्ञले प्योङयाङ छाडेका छन् ।

‘कोरोना’ संक्रमण फैलिने त्रासमा उनीहरुलाई क्वारेन्टाइनमा बस्न बाध्य पारिएको थियो ।

उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि उत्तर कोरियाको राष्ट्रिय ध्वजावाहक विमान रुस गएको ‘एनके न्यूज’ले जनाएको छ ।

उत्तर कोरिया छाड्नेमा विदेशी कूटनीतिज्ञ र दूतावासका कर्मचारीहरू छन् ।

गत फेब्रुअरीदेखि मार्च पहिलो सातासम्म उनीहरूलाई दूतावासको हाताबाट बाहिर निस्किन दिइएको थिएन ।

कोरोना फैलिने आशंकामा उत्तरले प्योङयाङमा रहेका सयौं विदेशीलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको थियो । करिब ३८० विदेशीलाई कम्तीमा ३० दिन क्वारेन्टाइनमा बस्न लगाएको थियो ।

तीमध्ये अधिकांश प्योङयाङस्थित विदेशी नियोगमा कार्यरत् कूटनीतिज्ञ र कर्मचारी थिए ।

अहिले पनि विदेशीहरूलाई रेस्टुराँ, पसल, व्यायामशाला र होटलमा जान तथा स्थानीयसँग भेटघाट गर्न नदिइएको एनके न्यूजले जनाएको छ ।

उत्तर कोरियामा अहिलेसम्म कोरोनाको संक्रमण फेला परेको पुष्टि भएको छैन । तर, कोरोनाको प्रकोप खेपिरहेका चीन र दक्षिण कोरियासँग उसको सीमा जोडिएको छ ।

आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट विभिन्न प्रतिबन्ध खेपिरहेको उत्तरमा ठूलो महामारी फैलिए उपचारको पर्याप्त क्षमता नभएको आशंका गरिएको छ । (एजेन्सी)