२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


मोदीको सम्मान अस्वीकार गर्ने यी आठ वर्षीया बालिका


0
Shares

काठमाडौँ, फागुन २६ । भारतमा एक आठ वर्षीया बालिकाले प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान अस्वीकार गरेकी छिन् । पर्यावरण अभियन्ता आठ वर्षीया लिसिप्रिया कञ्गुजमले प्रधानमन्त्री मोदीले गरेको प्रस्ताव अस्वीकार गरिदिएकी हुन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत सरकारले गरेको सम्मान अस्वीकार गरेपछि अहिले उनको चर्चा चुलिएको छ, भने उनले आफूले राखेका माग सम्बोधन गर्न आग्रह गरेकी छिन् ।

लिसिप्रियाले ट्वीट गर्दै प्रेरणादायी महिलामा राखेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदै धेरैपटक सोचेपछि सम्मान अस्वीकार गर्ने निर्णय गरेको उल्लेख गरेकी छिन् ।

सन् २०१९ मा अन्तर्राष्ट्रिय शान्ति बाल पुरस्कारबाट सम्मानित लिसिप्रियाले आफ्नो प्रशंसा र सम्मानको सट्टा संसदमा आफ्ना मागबारे छलफल गर्न आग्रह गरेकी हुन् । प्रधानमन्त्री मोदी र सांसदसँग जलवायु परिवर्तनसँग सम्बन्धित कानुन बनाउन उनले माग गरेकी छिन् ।

भारतको पूर्वोत्तर राज्य मणिपुरबी बासिन्दा लिसिप्रिया पर्यावरणको मुद्दाकी अभियन्ता हुन् । सरकारको सम्मान अस्वीकार गरेपछि कतिले उनको तारिफ गरेका छन् भने कतिपयले सरकारको अपमान गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो निर्णयप्रति आएका प्रतिक्रियामा लिसिप्रियाले आफ्नाबारे अफवाह नफैलाउन र आफू कसैका विरुद्ध नरहेको बताएकी छिन् ।

‘प्रिय दाजुभाइ तथा दिदीबहिनीहरु मेरोबारे अफवाह नफैलाइदिनुहोस् । म कसैकाविरुद्ध छैन । म प्रणालीलाई बदल्न चाहन्छु, पर्यावरण होइन । म कसैसँग आशा राख्दैन मात्रै हाम्रा नेताले मेरो आवाज सुनुन् भन्ने चाहन्छु । मलाई थाहा छ मेरो निर्णयले मेरो आवाज सुनाउनमा मद्दत गर्ने छ ।’ उनको ट्वीटमा उल्लेख छ ।