काठमाडौं । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ ।
रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रिने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने समझदारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोभिड–१९ संक्रमण सुरु भएयता चिनियाँ अधिकारीहरूले नेपाल पठाउने कन्टेनर संख्या घटाएका छन् । चिनियाँ पक्षले नियन्त्रित मात्रामा सामान छाड्दा चीनसँगको आयात व्यापार घटेको छ ।
बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले वार्ता प्रयास गर्नुभएको हो । नौ कन्टेनरमार्फत भइरहेको आयात वृद्धि गरी आगामी मंगलबारदेखि दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने समझदारी भएको उहाँले जानकारी दिनुभयो ।
कोरोना संक्रमण सुरु भएपछि सीमाक्षेत्रको मितेरी पुलमा आवतजावत बन्द भए पनि चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक तीन वटा ठूला कन्टेनरबाट सामान पठाइरहेको थियो ।
दैनिक १४ वटा ठूला चिनियाँ कन्टेनरमार्फत व्यवसायी सामग्रीसहित रसुवागढी आउन थालेपछि यताका २८ वटा नेपाली कन्टेनरले दैनिक रोजगारी पाउने व्यवसायीले बताएका छन् ।
कोरोना महामारीको पहिलो लहर घटेपछि ३ र ६ हुँदै ९ वटा कन्टेनरद्वारा सामग्री आयात भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्