
काठमाडौं, फागुन २५ । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसको संभावित जोखिम न्यूनिकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
कोरोना भाइरसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न निजी क्षेत्रको तर्फबाट सहजीकरणका लागि चेम्बरका उपाध्यक्ष दिपक कुमार मलहोत्राको संयोजकत्वमा चेम्बरले गत साता कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
चेम्बरले आइतबार यस सम्बन्धी सरोकारवाला निकायका अधिकारीहरुसंग गहन छलफल गर्दै सम्बन्धित निकायहरुलाई आवश्यक उपकरणहरु पनि हस्तान्तरण गर्यो ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका स्थानमा चेकजाँच तथा सुरक्षाका लागि आवश्यक मास्क, स्यानिटाइजर, स्पिरिट, गाउन, थर्मोमिटर गन लगायतका स्वास्थ सामग्री र उपकरणहरु सम्बन्धित निकायका अधिकारीहरुलाई हस्तान्तरण गरे ।
नेपालमा अहिले सम्म यो रोग देखा नपरेकाले आत्तिनुपर्ने स्थिति नरहेको तर रोग भित्रन नदिन भने सबै क्षेत्र सचेत भै प्रभावकारी किसिमले लाग्नुपर्नेमा श्रेष्ठले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्