
प्रदीप पौडेल, ईमेज ।
पोखरा । कोरोना संक्रमणको असर मुलुकको अर्थतन्त्रसँगै पर्यटन क्षेत्र पनि परेको छ ।
पर्यटन क्षेत्र प्रभावित बनेपछि पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीको ४ खर्ब रुपैयाँको लगानी संकटमा परेको हो ।
नेपाल भ्रमण वर्ष मनाउने घोषणासँगै पर्यटन व्यवसायीमा पनि बेग्लै उत्साह जागेको थियो ।
तर भ्रमण वर्षको सुरुमै चीनबाट फैलिएको कोरोनाको प्रकोपले विश्वव्यापी संकटकाल निम्तिएपछि सरकारले भ्रमण वर्ष २०२० केही दिनअघि स्थगित गरेको छ ।
भ्रमण वर्षलाई लक्षित गरी पुरानासँगै नयाँ पर्यटन व्यवसायीले पनि लगानी बढाएका थिए ।
तर कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिएपछि लगानीकर्ता संकटमा पर्न थालेका हुन् ।
पर्यटक आगमनको दर घटेसँगै पोखराका सानादेखि तारेहोटलहरुमा यसको प्रत्यक्ष असर देखिन थालेको छ ।
पोखराको पर्यटन क्षेत्रमा समग्र ४ खर्ब रुपैयँको लगानी गरेका व्यवसायीले कोरोनाकै कारण बैंकको किस्ता धान्न नसकेको पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनको भनाइ छ ।
पर्यटन व्यवसायीहरु यतिखेर कोरोनाको भयावह अवस्थाबाट गुज्रिएसँगै कोही पर्ख र हेरको अवस्थामा छन् । चिनियाँ पर्यटकलाई लक्षित गरी खोलिएका पर्यटन व्यवसाय बन्द भएका छन् ।
व्यवसायीका अनुसार यतिखेर बुकिङ रहेका ७० प्रतिशत बुकिङ रद्द भैसकेको छ । आगामी मार्च महिनासम्मको लागि बुकिङ रद्द भएका छन् ।
पोखरामा रहेका पर्यटकीयस्तरका ४ सय वटा होटलमा झन्ड १७ हजार जनाले रोजगारी पाएकामा अहिले उनीहरुको भविष्य समेत संकटमा परेको छ ।
विभिन्न समयमा प्राकृतिक विपत्तिसँग जुध्दै आएका पर्यटन व्यवसायीले बैंकिङ ऋण पुनर्संरचना गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
कोरोनाको महामारीबाट जोगिनका लागि पर्यटन व्यवसायीले समेत सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।
कोरोना आतंक कहिले नियन्त्रणमा आउँछ भन्ने अनिश्चित भइरहेका बेला आन्तरिक पर्यटकलाई बढावा दिनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्