
रोमन आचार्य र सुयेश मानन्धर (इमेज)
काठमाडौं, फागुन २४ । राजनीति नै अपराधीकरण भयो र यसले अपराधीको संरक्षण गर्यो भन्ने गुनासो सुनिन थालेको धेरै भयो ।
जसबाट राजनीतिज्ञ, प्रहरी संयन्त्र, न्यायालयदेखि नागरिक समाजसमेत अछुतो छैन ।
अझ राजनीतिक अवरण र प्रभावमा लुकाइएका तथा दबाइएका आपराधिक घटनाले राजनीतिज्ञमाथिको विश्वास नै गुम्न थालेको छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुराचारको आरोपमा डामिएपछि योबीचमा धेरै राजनीतिज्ञ यस्तै यौन दुराचारसम्बन्धी समाचारको शीर्षक बने ।
सशस्त्र द्वन्द्वका बेला व्यक्ति हत्याजस्तो जघन्य अपराधका आरोपी अग्नि सापकोटा यहीबीचमा सभामुख बने ।
ज्यानमार्ने उद्योगमा कैद भुक्तान गरेका दीपक मनाङे प्रदेशसभा सांसद छन् ।
एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा नेकपाका सुदूरपश्चिम प्रदेशका निर्वाचित सांसद अक्कलबहादुर रावल पक्राउ परेका छन् ।
योबीचमा प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई यौनशोषणसम्बन्धी विवादमा तानिए ।
यस्तै, नेपाली कांग्रेसका सांसद मोहम्मद आफ्ताब आलम, समाजवादी पार्टी नेपालका सांसद हरिनारायण रौनियार, नेकपा सांसद नारदमुनि रानाजस्ता थुप्रै जनप्रतिनिधि विभिन्न आरोपमा मुछिएका छन् ।
विज्ञहरुकाअनुसार यो राजनीतिमा दुश्चरित्र भएका व्यक्तिहरुको प्रभाव बढ्नुको परिणाम हो ।
समाजलाई सतमार्गमा लैजान प्रेरित गर्ने धर्मगुरुदेखि सामाजिक सुरक्षा र न्यायको अनुभूति दिलाउने जिम्मेवारी पाएका व्यक्ति पनि अपराधमा मुछिएका छन् ।
तपस्वीको भेषमा बसिरहेका रामबहादुर बम्जन, पाष्टर विश्वाश जोशीदेखि ‘सिद्धबाबा’ पनि अछुतो रहन सकेनन् ।
अपराध नियन्त्रणमा खटिएका प्रहरीका अधिकृत एसएसपी सौरभ राणा तथा पूर्वडीएसपी राजकुमार खिउजी पनि अपराधकर्मको अनुसन्धानमा तानिएका छन् ।
राजनीतिलाई अपराधकर्म लुकाउने मञ्च बनाउने प्रवृति नेपालमा सामान्य बन्दै गएको छ ।
यसअघि, दोहोरो नागरिकता तथा नक्कली नागरिकताकान्डमा मुछिएपछि ल्यार्काल लामाले अर्थराज्यमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।
अहिलेपनि सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहरिएपछि १ नम्बर प्रदेशसभा सदस्य गुलेफुन मियाँ खातुन फरार छिन् ।
निवर्तमान सञ्चार तथा सूचनाा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुस ‘बार्गेनिङ’को ‘अडियो’ले मन्त्री पद गुमेसँगै विद्यमान प्रणालीमाथिको जनविश्वास निरन्तर कमजोर बनाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्