५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


ओहोदाको प्रमाणपत्र पेस गरेलगत्तै भारतीय राजदूत क्वात्रा राजनीतिक भेटघाटमा सक्रिय


0
Shares

रोमन आचार्य (इमेज)

काठमाडौं, फागुन २३ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा नियुक्तिलगत्तै राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका राजदूत क्वात्राले बिहीबार र शुक्रबार गरी आधा दर्जन भेटवार्ता गरेका छन् ।

नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले फागुन २२ गते बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेलगत्तै नेपालका लागि २५औं भारतीय राजदूतका रुपमा राजनीतिक भेटवार्ता थालेका हुन् ।

ओहोदाको प्रमाणपत्र पेस गरेपश्चात् राजदूत क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुन, सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतसँग राजनीतिक भेटवार्ता गरे ।

लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा भएको भेटर्वातामा क्वात्राले ‘ह्वाट गान्धी मिन्स टु मी’ भन्ने पुस्तक उपहार दिएका थिए । उक्त पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओलीको लेखसमेत समावेश छ । 

बिहीबार नै राजदूत क्वात्राले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उनकै मन्त्रालयमा पुगेर भेट गरे ।

यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि क्वत्राले भेटवार्ता गरेका छन् ।

क्वात्राले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई शुक्रबार भेटेर ओली नेतृत्वको सरकारले ऊर्जा क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

यस्तै, उनले सत्तारुढ दलका नेता माधवकुमार नेपालसँग शुक्रबार बिहान भेटघाट गरेका छन् ।

गत डिसेम्बरमा तत्कालीन राजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नेपाल आएका हुन् ।

सन् १९८८ मा भारतीय कूटनीतिक सेवामा प्रवेश गरेका उनले ३० वर्ष यो क्षेत्रमा अनुभव लिइसकेका छन् ।

उनी व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा काम गर्दा नेपाल बसिसकेका छन् ।

राजदूत क्वात्राले अमेरिका, चीन, फ्रान्सलगायत देशहरुमा काम गरिसकेका छन् ।

नेपालको हरेक राजनीतिक परिवर्तनमा हस्तक्षेपकारी भूमिका खेलेका भारतका राजदूत सधैं चासोको विषय हुने गर्दछन् ।

यसकारण पछिल्लो समय पनि नेपालको राजनीतिमा भारतको भूमिकालाई नजिकबाट विश्लेषण गरिराखिएको छ । यसमा नियुक्ति हुनेवित्तिकैको भारतीय राजदूतको सक्रियता नियमित भएपनि अर्थपूर्ण हुन्छ ।