Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


स्वीडेन सरकारको फेलोसीपमा चुनिए नेपाली युवा लामिछाने


299
Shares

काठमाडौं । भक्तपुर निवासी युवा सबिन लामिछाने स्वीडेन सरकारअन्तर्गतको फेलोसिप कार्यक्रममा चुनिएका छन् ।

स्वीडेन सरकारको स्विडिस इन्सटिच्युटको ‘एस आइ लिडर ल्याब २०२२’ तालिम कार्यक्रमका लागि लामिछाने चुनिएका हुन् । फेलोसिपमा दक्षिण एशिया, मध्यपूर्व, उत्तर अफ्रिका तथा पूर्वी युरोपका २२ राष्ट्रबाट ९० जना नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, शान्ति अभियन्ता तथा विभिन्न अन्तराष्ट्रिय संघसंस्थाका नेतृत्वकर्ता सहभागी हुनेछन् ।

यस वर्ष संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यअन्तर्गत लक्ष्य १६ जना शान्ति, न्यायपूर्ण तथा सबल संस्थामा टेवा पुराउने व्यक्तित्वहरूलाई चुनिएको छ । तालिम कार्यक्रम मार्च २०२२ देखि जुन २०२२ सम्म सञ्चालन हुनेछ ।

दश बर्षदेखि युवा उत्प्रेरणा, शान्ति निर्माण, अन्तराष्ट्रिय सुरक्षा मामिला, जलवायु परिवर्तन, युवा कुटनीति तथा अन्तराष्ट्रिय युवा अभियानमा सक्रिय लामिछानेले राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा नेपालको प्रनिधित्व गर्दै आएका छन् ।

हाल ग्लोबल युथ पार्लियामेन्ट नामक गैर सरकारी संस्थामा कार्यकारी निर्देशक रहेका लामिछाने थाईल्याण्डस्थित एसियन रिसोर्स फाउन्डेसनको क्षेत्रीय प्रतिनिधिका रुपमा कार्यरत छन् ।

केहि महिना अगाडी मात्र जेनेभा सेन्टर फर सेक्युरिटी पोलिसी, संयुक्त राष्ट्र संघको तालिम तथा अनुसन्धान केन्द्र तथा स्विस सरकारको परराष्ट्र मामिला संघीय विभागको ‘शान्ति निर्माण तथा शान्ति नेतृत्वकर्ता तालिम’ कार्यक्रममा विश्वभरिको छनोटबाट शीर्ष २२ शान्ति अभियन्ताका रूपमा चुनिएका थिए ।

लामिछाने भन्छन्, ‘यस्ता अन्तराष्ट्रिय गौरवका कार्यक्रममा सहभागी हुन पाउनु एकदम ठूलो कुरो हो, तर मेरो लागि त्योभन्दा ठूलो यस किसिमको कार्यक्रमको मार्फतबाट नेपालको प्रतिनिधित्व गर्न पाउनु र दिगो विकासको अभियानमा नेपाली युवा पनि अग्रसर छन् भन्ने सन्देश दिन पाउनु हो ।’