
नवीन शर्मा र भरत केसी (इमेज)
काठमाडौं, फागुन २३ । लुकाइ–छिपाइ चीन लैजाँदै गर्दा विभिन्न समयमा बरामद गरिएको करिब दुई लाख किलो रक्तचन्दन १४ वर्षदेखि मुलुकका विभिन्न १५ जिल्लामा अलपत्र अवस्थामा छन् ।
तस्करीमार्फत् भित्रिएको रक्तचन्दनको सुरक्षामा प्रहरी खटाइएको छ ।
तर, सम्बन्धित मुलुकमै फिर्ता लैजानुपर्ने अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाअनुसार भारतले फिर्ता लैजान चासो दिएको छैन ।
सन् २००६ यता नेपालमा बरामद भएको करिब तीन अर्ब रुपैयाँको रक्तचन्दन वनस्पति एवं जीवजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) मा हस्ताक्षर गरेकै कारण नेपालमा अलपत्र परेको छ ।
सन्धिअनुसार भारतबाट नेपालको बाटो हुँदै चीन लैजानेक्रममा बरामद भएकाले यो वनस्पति सम्बन्धित मुलुक भारतमै फिर्ता पठाउनुपर्ने हुन्छ ।
तर, गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले अलपत्र रक्तचन्दन उत्पत्ति मुलुकमै फिर्ता पठाउने निर्णय गरे पनि दुई महिनासम्म भारतले जवाफ दिएको छैन ।
काठमाडौंको वन विभाग परिसरमा राखिएको रक्तचन्दनको सुरक्षाका लागि विगत १४ वर्षदेखि ३० जना सशस्त्र प्रहरी खटिएका छन् ।
कन्टेनर, ट्रक र टाटामोबाइलमा राखिएको रक्तचन्दन कुहिएर कामै नलाग्ने बनेको छ । तर, यसको व्यवस्थापन कसरी हुन्छ, अझै टुंगो छैन ।
नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत् साइटिस महासन्धि र अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ बमोजिम एक लाख ७३ हजार ७१ किलो रक्तचन्दनमात्र भारत पठाउने निर्णय गरेको छ ।
तर, वन विभागकाअनुसार नेपालमा दुई लाख ४७ हजार ४८ किलोग्राम रक्तचन्दन समातिएको विवरण छ ।
अर्थात् १४ वर्षको बीचमा २८ हजार ८८४ किलो काठको विवरण नै हराएको छ । जुन काठ महँगो औषधि बनाउन प्रयोग हुनसक्छ ।
काठमाडौं, झापा, सिन्धुपाल्चोक, भक्तपुर, रसुवा, नवलपरासी, चितवन, सर्लाही, रुपन्देही, ताप्लेजुङ, तेह्रथुम, कपिलवस्तु, ललितपुर, दोलखा र काभ्रेपलान्चोकलगायतका जिल्ला वन कार्यालयमा सुरक्षाकर्मीको निगरानीमा रक्तचन्दन राखिएको छ ।
जुन चन्दनको काठ साइटिस महासन्धिअनुसार नेपाल सरकारले निर्णय गरेको ९० दिनभित्र भारत फिर्ता हुनुपर्छ ।
अन्यथा बजारमा प्रतिकिलो १५ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको तीन अर्ब रुपैयाँभन्दा बढीको रक्तचन्दन जलाउनुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्