
यज्ञराज पाण्डे र राममान डंगोल (इमेज)
काठमाडौं, फागुन २१ । सर्वोच्च अदालतमा एक महिनायता दैनिक दुईओटा ‘कजलिष्ट’ निस्किने गरेका छन् ।
नियमित मुद्दा र मुद्दा दोहोर्याइ पाऊँ भन्ने निवेदनका दैनिक दुईओटा कजलिष्ट निकाल्ने गरिएको छ ।
दोहोर्याउने निवेदनको कजलिस्ट बिहान १० बजे र त्यसको डेढ/दुई घन्टापछि नियमित मुद्दाको कजलिष्ट निकाल्ने गरिएको छ ।
यसबाट कानुन व्यावसायीहरुलाई भने तयारी र समय व्यवस्थापन गर्न मुस्किल भएको छ ।
गत माघ १९ गतेदेखि सर्वोच्च अदालतले नयाँ अभ्यास सुरु गरेको हो । सर्वोच्च अदालतमा मुद्दाका निवेदन र दोहोर्याइ पाऊँका निवेदन तथा अन्य मुद्दाका सम्बन्धमा बिहान एकैचोटि एउटै कजलिष्ट निकालेर सो कजलिष्टको आधारमा दिनभर बहस पैरवी हुने गदथ्यो ।
एक महिनायता भने सर्वोच्चले नयाँ अभ्यासस्वरुप दुईओटा कजलिष्ट निकालेर मुद्दा मामिला निरुपण गर्ने गरेको छ ।
न्यायिक कार्यमा सहजता होस् भन्ने उद्देश्यले उच्चस्तरीय बेञ्च र बार समन्वय समिति गठन पनि गरिएको छ । जसमा प्रधानन्यायाधीशलगायत सर्वोच्च अदालतलका वरिष्ठतम् चारजना न्यायाधीश, नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पूर्वअध्यक्ष, नेपाल बारका पूर्वअध्यक्षहरु र सदस्य सचिवमा मुख्य रजिष्ट्रार रहेको समिति गठन गरिएको छ ।
सर्वोच्च अदालतमा मुद्दाहरुको संख्या बढेपछि चाँडै मुद्दा फर्छ्योट गर्ने उद्देश्यले सो समिति गठन तथा न्यायाधीशरुहरुको समन्वयमा नयाँ अभ्यास सुरु गरिएको कानुन व्यवसायीहरु बताउँछन् ।
यसरी एकैदिन दुईटा कजलिष्ट निस्कँदा कानुन व्यवसायीहरुलाई भने मुद्दाको तयारी गर्न अप्ठेरो भएको छ ।
एउटा मुद्दाका लागि अदालतमा गएकै बखत अर्को कजलिष्टमा पनि मुद्दा पर्ने हुँदा पर्याप्त तयारी गर्ने समय नपुगेको र पैरवी गर्न नसकिने अवस्था आएको कानुन व्यवासायीहरुको गुनासो छ ।
एकै दिन दुईटा कजलिष्ट आउँदा चाँडो मुद्दा फर्छ्योट गर्ने नाममा कतै मुद्दाका दुवै पक्षलाई अन्याय पो हुने हो कि भन्ने शंका पनि उब्जिएको छ ।
सर्वोच्च अदालत भने आगामी असारसम्म यसलाई परीक्षणको रुपमा लैजाने र त्यसपछि निर्णय लिने मनस्थिति बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्