
सुसन रामदाम र भरत केसी (इमेज)
काठमाडौं, फागुन २१ । ‘कोरोनाभाइरस’को संक्रमण फैलिने आशंकाले सरकारले विद्यालयहरुलाई चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ ।
शिक्षा मन्त्रालयको निर्देशनपछि विद्यालयहरु आफ्नो शैक्षिक क्यालेन्डर हेरफेरमा जुटेका छन् ।
कोरोनाभाइरसको त्राससँगै शिक्षा मन्त्रालयले कक्षा–१ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्रै सम्पन्न गर्न निर्देशन दिएसँगै विद्यालयहरु तयारीमा जुटेका छन् ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै निजी तथा आवासीय विद्यालयहरुलाई चैत ५ गतेभित्र नै परीक्षा सक्न निर्देशन दिएको हो ।
चैत ६ गतेदेखि सुरु हुने एसइई, वैशाख ८ गतेबाट हुने कक्षा–१२ र वैशाख २१ गतेबाट सुरु हुने कक्षा–११ को परीक्षा भने यथावत् राखिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी उपसचिव दिव्या दवाडीले बताइन् ।
प्याब्सन, एनप्याब्सनलगायतका संस्थाहरुले चैत ५ गतेभित्र नै परीक्षा सम्पन्न गर्न आफू मताहतका विद्यालयहरुलाई ‘सर्कुलर’ जारी गरिसकेका छन् ।
शिक्षा मन्त्रालयको निर्देशनसँगै कतिपय विद्यालयहरुले कोरानाभाइरसको विरुद्धमा सचेतता कार्यक्रमसमेत सुरु गरेका छन् ।
शिक्षा मन्त्रालयको निर्देशनसँगै कोरानाभाइरसप्रति विशेष सजगता अपनाउँदै सोही मितिमा परीक्षा सक्ने गरी तयारीमा जुटेको विद्यालयहरुको भनाइ छ ।
कोरानाभाइरसको जोखिमप्रति सचेत हुँदै शैक्षिक गुणस्तरलाई समेत कायम राख्न भने विद्यालयहरुलाई थप चुनौती थपिएको छ ।
प्रतिक्रिया दिनुहोस्