काठमाडौं । देशका विभिन्न ठाउँमा आज भएको सवारी दुर्घटनामा ६४ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा आज बिहान बस दुर्घटना हुँदा पाँच घाइते भएका छन् ।
घाइते हुनेमा बैतडी सुर्नयाका २२ वर्षीया विनिता कुँवर (टेर), दार्चुला ब्यासका ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोविन्दी कुँवर, दार्चुला दुहुका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल छन् ।
घाइतेको बैतडी र दार्चुलाका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
घाइतेको प्रहरीचौकी खोचलेकका प्रहरी सहायक निरीक्षक शङ्करदत्त भट्टको टोलीले उद्धार गरेको हो । बसमा सवार ४० जना रहेको भए पनि अन्यको अवस्थामा सामान्य रहेको छ ।
महेन्द्रनगरदेखि गन्ना जाँदै गरेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस न्वालीमा आज बिहान ५ बजेतिर एक्कासि नालीमा पल्टिन गई दुर्घटनामा परेको हो ।
बस चालक दीपक बोहरा प्रहरी नियन्त्रणमा रहेका छन् । ओरालो बाटोमा गति अनियन्त्रित हुँदा बस दुर्घटनामा परेको चालकले प्रहरीसमक्ष बताएका छन् ।
यसैगरी रामेछापको गुराँसेबाट बनेपा आउँदै गरेको यात्रुबाहक बस चौरीदेउराली गाउँपालिका स्थित ढाँडखर्कमा दुर्घटना भएको छ ।
बसमा यात्रा गरिरहेका ४४ जना यात्रुहरु घाईते भएका छन् । बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए ।
घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । घाइतेहरु सबैको उपचारका लागि धुलिखेल अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ ।
“घाइतेहरुको नाम र ठेगाना खुलेको छैन, हामीले उपचारका लागि पहिलो प्राथमिकतामा राखेर उद्धारपश्चात् अस्पतालतर्फ पठाएका छौँ”, प्रहरी निरीक्षक झाले भने ।
गाडीको चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यता, कपिलवस्तु ३ महितामा लु १ ज ९०५ नम्बरको जीप पल्टिँदा १५ जना घाइते भएका छन ।
प्राचीन यातायात कपिलवस्तुको गाडी पल्टिँदा कपिलवस्तु ६ सेमरी बस्ने ४५ वार्षिय पुस्पा भट्टराई गम्भीर घाइते भएका छिन ।
ऊनी सहित १४ जनाको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार भाइरहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्