
रोमन आचार्य र राजेन्द्र नापित (इमेज)
काठमाडौं, फागुन २० । नेपाली कांग्रेसमा फेरि आन्तरिक मतभेद चर्किएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा विभाग गठन, आमन्त्रित केन्द्रीय सदस्य थप र ज्येष्ठ राजनीतिकसभा गठन गरेपछि १४औं महाधिवेशनको तालिकाको विवाद टुंगिएको एक महिनामै कांग्रेसमा किचलो सुरु भएको हो ।
नेपाली कांग्रेसको विधानलाई मान्ने हो भने १३औं महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै पार्टीका विभागहरु गठन गरिसक्नुपर्ने थियो ।
तर, देउवाले पार्टी विधानविपरीत २८ विभाग बढाएर ४७ पुर्याउनुको साथै धमाधम एकपक्षीयरुपमा विभागको नेतृत्व तोक्न थालेपछि पार्टीभित्रको अर्को पक्ष चिढिएको छ ।
देउवाले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमै बस्न गाह्रो हुनेगरी आमन्त्रित केन्द्रीय सदस्य थप्दा झनै समस्या थपिएको छ ।
पार्टी सभापतिको चारवर्षे कार्यकाल सकिएकै बेला देउवाले चालेको कदमले पार्टीको १४औं महाधिवेशनको निष्पक्षतामै प्रश्नसमेत उठेको छ ।
गत पुसमा देउवाले एकपक्षीयरुपमा १४औं महाधिवेशनको कार्यतालिका तोकेपछि चरम विवाद भएको थियो । त्यतिबेला लामो कसरतपछि विवाद साम्य पारिएको थियो ।
अहिले फेरि विभाग गठन गरेर आन्तरिक किचलो निम्त्याइएको छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य देउवाको कदमले कांग्रेसको लोकतान्त्रिक छवि धमिलो बनाउनुको साथै १४औं महाधिवेशनको निष्पक्षतामा शंका उब्जिएको बताउँछन् ।
१४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा सभापति देउवाले चालेको पछिल्लो कदमलाई पार्टी कब्जा गर्ने रणनीतिको रुपमा पनि अर्थ्याइएको छ ।
कांग्रेसले २०७७ साल फागुन ७ देखि १४औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
अहिले आसन्न महाधिवेशनको गृहकार्यमा जुट्नुपर्नेमा एकपक्षीय कदमहरु चालेर पार्टी सभापति देउवाले नै कांग्रेसमा द्वन्द्व निम्त्याउन खोजेको आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्