१ असार २०८१, शनिबार | Sat Jun 15 2024


युक्रेनसँग दोस्रो चरणको वार्ता गर्न रुस तयार, रुसी आक्रमणको गति कम भएको अमेरिकी दाबी


3.653k
Shares

एजेन्सी । रुसले युक्रेनसँग दोस्रो चरणको वार्ता सुरु गर्न तयार रहेको बताएको छ ।

क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले जारी युद्धबारे युक्रेनका प्रतिनिधिसँग पुनः वार्ता गर्न तयार रहेको बताएका हुन् । तर, वार्ता हुने स्थानबारे पेस्कोभले केही खुलाएनन् ।

युक्रेनका अधिकारीले वार्ता सञ्चालन गर्ने रुसको प्रस्तावबारे हालसम्म कुनै टिप्पणी गरेका छैनन् । जारी युद्धलाई अन्त्य गर्ने प्रयास स्वरुप युक्रेन र रुसका अधिकारीले शनिबार पहिलो चरणको वार्ता गरेका थिए ।

दुवै पक्षले पुनः भेट्ने सहमति गरेको सो वार्तापछि कुनै निष्कर्ष निस्कन भने सकेको थिएन । युक्रेन र रुसबीच वार्ता र युद्धका खबर आइरहँदा रुसका विदेशमन्त्री सर्गेई ल्याभरोभले भने तेस्रो विश्वयुद्धमा आणविक हतियार प्रयोग गरिने भएकाले विनाशकारी हुने बताएका छन् ।

बुधबार विदेशमन्त्री ल्याभरोभले तेस्रो विश्व युद्ध सुरु भए त्यो विनाशकारी हुने बताएका हुन् । तेस्रो विश्व युद्धमा आणविक हतियारसमेत प्रयोग गरिने भएकाले विनाशकारी हुने उनको भनाइ थियो ।

युक्रेनले आणविक हतियार प्राप्त गरेमा रुसले ‘वास्तविक खतरा’को सामना गर्नेसमेत ल्याभरोभलाई उद्धृत गर्दै रुसी सरकारी समाचारमाध्यम आरआईएले जनाएको छ ।

यसैबीच युक्रेनमाथि चौतर्फी आक्रमण गरिरहेको रुसले मुख्य शहरलाई आफ्नो नियन्त्रणमा लिन आक्रमणलाई तीव्रता दिएको छ । रुसी सैनिकहरु युक्रेनका बन्दरगाह सहर खेअरसन र मारिऊपाृल तथा पूर्वोत्तरको खार्किभ आफ्नो नियन्त्रणमा लिन सङघर्ष गरिरहेका छन् ।

उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जारी लडाइँ आफ्नो देश एक्लैले जित्न नसक्ने बताएका छन् । तर, अमेरिकी रक्षा अधिकारीहरूले भने युक्रेनी फौजको प्रतिवादका कारण रुसी आक्रमणको गति कमजोर भएको र केही सैनिकले आत्मसमर्पण गरेको दाबी गरेका छन् ।