
काठमाडौं, साउन २३ । ९० प्रतिशतभन्दा बढी मुस्लिमहरु रहेको बंगलादेशले भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा बौद्धविहार निर्माण गर्ने भएको छ ।
लुम्बिनी विकास कोषले प्रदान गरेको ८० मिटर लम्बाइ र ८० मिटर चौडाइ क्षेत्रफलको जग्गामा विहार निर्माण गर्न लागिएको हो ।
मंगलबार नेपालका लागि बंगलादेशी राजदूत मासफे बिन्ते सामको अग्रसरतामा महायानी बौद्ध विहार निर्माण गर्ने सो स्थानमा बौद्ध परम्पराअनुसार पूजा गरिएको थियो ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा बुद्धपूजा गरिएको हो ।
राजदूत बिन्ते सामले बंगालादेश सरकारले काठमाडौंमा रहेको बंगालादेश दूतावासमार्फत् चाँडै विहारको डिजाइन दिने बताएकी छन् ।
लुम्बिनीको पश्चिमी क्षेत्रको उक्त जग्गामा सम्झौताअनुरुप बंगाल बुद्धिष्ट एसोसिएसन कोलकाताले विहार नबनाएपछि लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष गजेन्द्र लामाको समयमा सम्झौता रद्द गरिएको जनाएको छ ।
सोही स्थानमा अहिले बंगालादेशलाई विहार निर्माण गर्न जग्गा उपलब्ध गराइएको जनाइएको छ ।
लुम्बिनीको पूर्वी क्षेत्रमा पाँच र पश्चिमी क्षेत्रमा नेपाल र विभिन्न देशका १४ ओटा विहार र गुम्बा निर्माण भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्