२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


कोरोना कहरः विश्वका ५८ देशमा फैलियो, सावधानी अपनाउन ‘डब्लूएचओ’को अपिल


0
Shares

एजेन्सी । कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

चीनको वुहान शहरबाट फैलिएको कोराना विश्वका ५८ देशमा फैलिएको छ भने मृतकको संख्या बढ्दै गएको छ ।

अधिकारीहरुका अनुसार कोरोनाका कारण विश्वव्यापी रुपमा तीन हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

चीनमा पछिल्लो समय नयाँ संक्रमितहरुको संख्या घट्दै गएपनि मध्यपूर्वका इरान, साउदी अरेबिया, जोर्डन, ट्युनिसिया लगायत युरोपियन देशहरुमा उक्त संक्रमण फैलिन थालेको बताइएको छ ।

ती देशहरुमा कोरोनाका नयाँ संक्रमितहरुको संख्या दिनहुँ बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अहिलेसम्मको तथ्यांक अनुसार चीनपछि इरानमा सबैभन्दा बढीको मृत्यु भएको छ । इारनमा हालसम्म ६६ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भाइरसको संक्रमण बढ्दै गएपछि अधिकांश देशहरुले पर्यटकको आवागमनमा कडाइ गर्नुका साथै विमानस्थलहरुमा चेकजाँचका लागि हेल्थ डेस्कहरु स्थापना गरेका छन् ।

त्यसैगरी अत्यावश्यकबाहेक अन्य काममा विदेश नजान नागरिकहरुलाई ती देशले आग्रहसमेत गरेको बताइएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भाइरसको नियन्त्रणका प्रयासहरु जारी रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

डब्लुएचओले कोरोना नियन्त्रणका लागि चुनौती रहेपनि भाइरसको संक्रमण फैलन नदिन विशेष योजनासहित सावधानी अपनाउन आग्रह गरेको छ ।