Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


दाहालमाथि जुत्ता प्रहारः पक्ष र विपक्षमा बहस


0
Shares

यज्ञराज पाण्डे र सुयेश मान्नधर (इमेज)

काठमाडौं, फागुन १९ । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालमाथि आइतबार काठमाडौंको सभागृहमा एक युवाले जुत्ता प्रहार गरेपछि सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा बहस भइरहेको छ ।

कतिपयले भने नेताहरुमाथिको आक्रमणलाई राजनीतिक प्रणालीप्रतिको आक्रोशसमेत भनेका छन् ।

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएको भनिएका माओवादी कार्यकर्ता मनबहादुर तिरुवाका छोरा रतन तिरुवाले आइतबार पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरी जुत्ता प्रहार गरे । दाहाल भने जुत्ता लाग्नबाट जोगिए ।

यो घटनालाई लिएर सामाजिक सञ्जाल र सर्वसाधारणले विभिन्न टीका–टिप्पणी गरेका छन् । कसैले जुत्ता प्रहार गर्ने तिरुवालाई समर्थन गरेका छन् भने कसैले उनलाई फौजदारी संहिताअनुसार कारबाही गरिनुपर्ने तर्क दिइरहेका छन् ।

जुत्ता प्रहारलाई सांकेतिक जनआक्रोश भन्दै वर्तमान शासनसत्ताप्रतिको आक्रोशको रुपमा लिनेहरु पनि छन् ।

राजनीतिक विश्लेषक खगेन्द्र प्रसाइँ भने यही घटनाको आधारमा सिंगो राजनीतिक व्यवस्थामाथिको आक्रोश हो भन्ने नमिल्ने तर्क गर्छन् ।

दाहाललाई लक्षित गर्दै जुत्ता प्रहार गरेपछि सुरक्षाकर्मी र दाहालका कार्यकर्ताबाट तिरुवामाथि भएको दुर्व्यवहारको भने चर्को आलोचना भएको छ ।

मनोविद्हरु भने जुत्ता प्रहार गर्ने रतन तिरुवाको मनोवैज्ञानिक अवस्थाको पनि अध्ययन हुनुपर्ने बताउँछन् ।

प्रहरीको प्रारम्भिक बयानमा तिरुवाले आक्रोशमा जुत्ता हानेको बताएका छन् ।

आफ्ना बाबु मनबहादुर माओवादीमा सक्रिय रहँदा २० वर्षअघि सशस्त्र द्वन्द्वमा मारिएको बयान पनि उनले दिएको बताइएको छ ।

दाहालमाथि आक्रमण प्रयास भएको यो दोस्रोपटक हो । २०६९ कात्तिकमा माओवादी कार्यकर्ता पदम कुँवरले मञ्चमै पुगेर दाहाललाई चड्कन हानेका थिए ।

यस्तै, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, झक्कुप्रसाद सुवेदी, सुशील कोइरालामाथि पनि आफ्नै कार्यकर्ताबाट भौतिक आक्रमणको प्रयास भएका थिए ।

यस्ता घटनालाई पाठको रुपमा लिएर राजनीतिक नेतृत्वले आफूलाई सच्याउने वा निराश जनताका भावना सम्बोधन गर्ने प्रयास भने गरेको पाइँदैन ।

बरु, घटनालाई वैयक्तिकरण गरेर आफू नै ठीक भन्ने मनोवृत्ति नेताहरुमा रहुन्जेल यस्ता घटना दोहोरिरहनेमा शंका छैन ।

भिडियो हेर्नुहोस्