२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


‘कोरोनाभाइरस’बाट सतर्कता अपनाउन कांग्रेसको अपिल


0
Shares

काठमाडौं, फागुन १९ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विश्वव्यापीरूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड १९) नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन अपिल गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाभाइरसको संक्रमणबाट जोगिन नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने टड्कारो अनिवार्यता रहेको उल्लेख गरे ।

‘प्राणघातक भाइरस कोरोनाले विश्वव्यापीरुपमै महामारीको डँका बजाइरहेका बेला मुलुकले सतर्कताको पर्याप्त पूर्वतयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा छ’–उनले भने–‘यस्तो गम्भीर विश्व परिस्थितिका बेला सम्पूर्ण सतर्कताका लागि कांग्रेस नेपाल सरकार र सम्बन्धित निकायहरू एवं सबै राजनीतिक दल, संघ–संस्था र समस्त नेपालीमा अपिल गर्दछ ।’

कांग्रेसले विश्व स्वास्थ संगठन (डब्लूएचओ)ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गर्न सरकारसँग आग्रह गरेको छ ।

कोरोना संक्रमित मुलुकको सूची जारी गरेर ती देशमा नेपालीको भ्रमणमा अस्थायीरुपले तत्काल रोक लगाउन र संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउन कांग्रेसले आग्रह गरेको छ ।

सोमबार मध्याह्नसम्मको स्थलगत अध्ययनमा अन्तर्राष्ट्रिय विमानस्थलको जाँचको प्रक्रिया कामचलाउ प्रकृतिको फितलो देखिएको भन्दै प्रवक्ता शर्माले प्रवेशद्वारमा कठोर ढंगको कडाइ गरिएन भने र भाषणका मञ्चबाट सतर्कताको अपिलमात्रै जारी गर्दा स्थिति भयावह हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नाकामा केरुङको नाकामा कडाइ गरिएको भएपनि अन्य नाका खासगरी तराई–मधेसका सबै सीमानाकाबाट सोमबार मध्याह्नसम्म निर्वाध प्रवेश जारी रहेको उनले बताए ।

साथै, ती नाकाहरुमा पनि तत्काल कडाइ सुरु गर्न विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न उनले माग गरे ।

केन्द्र, प्रदेश र स्थानीय तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढंगले अघि बढाउन प्रवक्ता शर्माले सुझाव दिए ।

संक्रमण भए/नभएको ठहर गर्ने ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला’मा परीक्षण ‘कीट’को कमी हुनसक्ने र परीक्षणका लागि दक्ष जनशक्तिको अभाव हुनसक्ने खतरालाई समयमै ध्यान पुर्‍याइ आवश्यक बन्दोबस्त यथाशीघ्र मिलाउन उनले आग्रह गरे ।

‘संक्रमण भित्रिएको र फैलिएको खन्डमा स्वास्थ्यकर्मीले जोखिमपूर्ण ढंगले उपचार र उद्धारमा समर्पित हुनुपर्ने स्थिति आउनसक्छ । त्यस्तो जोखिम हुन नदिन एकातर्फ विशेष प्रकृतिको एप्रोन र उपकरणको अभाव हुन नदिन पर्याप्त बन्दोबस्ती गरियोस् र स्वास्थ्यकर्मीलाई विशेष ढंगको प्रोत्साहन र प्रशिक्षणको थालनी गरियोस्’–उनले भने ।

कांग्रेसले संक्रमणको खतराले नागरिकमा खासगरी बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान पुर्‍याउन, मास्क पर्याप्त प्रबन्ध गर्न, संक्रमण भित्रिएर फैलिएको खन्डमा त्यसको नकारात्मक परिणाममध्ये सम्भावित खाद्यान्न संकट हुनसक्नेतर्फ समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

चीनको वुहान सहरबाट १८० नेपालीलाई उद्धार गरेर ल्याउन दुई साता लामो छलफल, अन्योल र विवाद भएको स्मरण गर्दै उनले ठूलो संख्यामा नेपाली रहेकोे दक्षिण कोरियालगायतका कतिपय देशमा कोरोनाको संक्रमण तीव्र ढंगले फैलिएको र त्यहाँ रहेका नेपालीलाई संक्रमणबाट सुरक्षित गर्न तथा अत्यावश्यक परे उद्धार गर्न के–कस्ता रणनीति अवलम्बन गर्न जरुरी छ, सोबारेमा तत्काल विमर्श गर्न आग्रह गरे ।

प्रवक्ता शर्माले वुहानबाट ल्याइएका नेपालीलाई राखिएको ‘क्वारेन्टाइन’ आगामी दिनमा अपर्याप्त हुनसक्ने खतरालाई दृष्टिगत गर्दै वैकल्पिक दर्जनौं क्वारेन्टाइन निर्माण गर्नुपर्ने दिशामा सरकारले युद्धस्तरमा काम गर्नुपर्ने र कोरोना संक्रमणबाट पूर्वसतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आमसञ्चारका माध्यमको समुचित प्रयोग गर्ने कार्यमा सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसले जोखिम सामना गर्न कुनैपनि कमजोरी र सम्झौता नगर्न सरकारलाई सार्वजनिक आग्रह गर्दै समस्त नेपालीमा संयमतापूर्वक सतर्कताका लागि अपिल गरेको छ । रासस