
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ ।
कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको जानकारी दिए ।
उनले सुदूरपश्चिममा जाँच गर्दा हालसम्म कसैलाई पनि कोरोनाको सम्भावित लक्षण नदेखिएको जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयले गत माघको तेस्रो साता कोरोना भाइरस प्रतिकार्य तयारीका लागि नीतिगत निर्णयसमेत गरेको थियो ।
सुदूरपश्चिममा रहेका सरकारी तथा गैरसरकारी अस्पतालमा जाँचका लागि तयारी योजनासमेत बनाउन पहल भएको छ ।
त्यसैगरी कञ्चनपुरको गड्डाचौकी सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षा निकायले पनि नेपालबाट भारत जाने सर्वसाधारणलाई मास्क लगाउन अनिवार्य गर्नुका साथै सीमामा शङ्कास्पद लक्षण देखिए स्वास्थ्य जाँचसमेत गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्