२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बेपत्ता प्रधानाध्यापक गुफाभित्र मृत फेला


13
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, साउन २३ । पर्वतमा बेपत्ता रहेका एक विद्यालयका प्रधानाध्यापक बुधबार मृत अवस्थामा फेलापरेका छन् ।

पर्वतको कुस्मा नगरपालिका–९ घर भइ पर्वतकै मोदी गाउँपालिका–६, दोविल्लामा रहेको हरि प्राथमिक विद्यालयका प्रधानाध्यापक ५९ वर्षीय शिवप्रसाद पौडेल अलपेश्वर गुफाभित्र मृत भेटिएका छन् ।

कुस्मा नगरपालिका वडा नम्बर–९ स्थित अलपेश्वर गुफाको सबैभन्दा तल्लो भागमा बुधबार दिउँसो ६ दिनपछि प्रअ पौडेल मृत भेटिएका हुन् ।

बिहान पूजापाठ गर्न भनी मन्दिर गएका पौडेल साउन १८ गते बिहानदेखि बेपत्ता भएका थिए ।

अलपेश्वर गुफाभित्र उनले कम्मरमा बाँध्दै आएको पटुकी भेटिएपछि आफन्त र प्रहरीले खोजी गर्नेक्रममा गुफाको सबैभन्दा तल्लो भागमा ढुंगामा अड्किएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मृतक पौडेलको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी गरिएको छ ।

करिब ३८ वर्ष शिक्षण पेसामा बिताएका पौडेलले विगत १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा पढाउँदै आएका थिए ।

उनी बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गरिरहेका थिए ।

मृतक पौडेलले ‘अन्तिम पत्र’ भनेर घरमा लेखेर छाडेको पत्रमा ‘छोराछोरीलाई राम्रोसँग पढाउन नसकेको तथा जीवनमा केही गर्न नसकेको’ लेखेका थिए ।

मृतक पौडेलका एक छोरा र एक छोरी छन् । छोरा वैदेशिक रोजगारका सिलसिलामा दुबईमा छन् । छोरीको विवाह भइसकेको छ ।