
एजेन्सी । मलेशियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले प्रधानमन्त्री पदको शपथ लिएका छन् ।
९४ वर्षीय महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय भएको छ ।
पूर्व प्रधानमन्त्री महाथिरले वर्तमान सरकारको गठन अवैधानिक रहेको दाबी गरेका छन् ।
सन् २०१८ मा ऐतिहासिक विजयका साथ उदय भएको महाथिरको सुधारवादी गठबन्धनभित्र मौलाएको आन्तरिक कलहकै कारण सरकार पतन भएको थियो ।
महाथिरले सर्वपक्षीय सरकार गठनका लागि गरेको प्रयास विफल भएको थियो ।
मलेसियाको राजनीतिमा कमै चिनिएका यासिनले नयाँ गठबन्धनको नेतृत्व गरी सरकार गठन गरेका छन् ।
हिजो मलेसियाका सुल्तानले मोहिउद्दीनलाई प्रधानमन्त्रीको रूपमा छनौट गर्ने निर्णय गरेपछि महाथिर र उनका सहयोगीहरूले आफूहरुसँग पर्याप्त समर्थन रहेको दाबी गरिरहेका थिए ।
मोहिउद्दीनको सपथग्रहण समारोह हुनुअघि महाथिरले आफुमाथि विश्वासघात भएको आरोप लगाउँदै नयाँ प्रधानमन्त्रीले संसदबाट बहुमत ल्याएर देखाउन चुनौती दिएका थिए ।
मुहिउद्दीनको गठबन्धनमा भ्रष्टाचारको आरोप खेपिरहेका पूर्व प्रधानमन्त्री नजिब रजाकको नेतृत्वमा रहेको युनाइटेड मलेज नेशनल अर्गनाइजेसनका साथै कडा मुस्लिम कानुनको वकालत गर्ने कट्टरपन्थी समूहहरु रहेका छन् ।
नजिब अहिले भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्