२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


सीमा नाकामा कोरोना संक्रमितको सङ्ख्या कम हुँदै


117
Shares

काठमाडौं । तेस्रो लहरको कोरोना संक्रमण दर घटेसँगै सीमानाकामा पनि संक्रमितको सङ्ख्या कम हुँदै गएको छ ।

बाँकेस्थित नेपाल भारत जमुनाहा नाका र कैलालीस्थित धनगढी नाकाबाट स्वदेश फर्कनेमा कोभिड–१९ परीक्षण गराउँदा संक्रमण घटेको पाइएको हो । सङ्क्रमणको तेस्रो लहर सुरु हुँदा भारतबाट आउने नेपालीमा सङ्क्रमण बढेकोमा अहिले घटेको पाइएको छ ।

फागुनयता सङ्क्रमित हुने सङ्ख्यामा कमी आएको जमुनाहा सीमा नाका स्वास्थ्य सहयोग कक्षले जनाएको छ । फागुन १ गते नमूना परीक्षण गरिएका ३६७ मध्ये आठ जनामा सङ्क्रमण देखिएको थियो भने फागुन १२ गते ३१७ जनामा एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण नदेखिएको शाखाले जनाएको छ ।

तेस्रो लहर सुरु भएसँगै नाकामा सबैभन्दा बढी पुस १८ गते ६ सय ६० को परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण देखिएको थियो ।
यस्तै कैलाली–कञ्चनपुरको भारत नाका जोड्ने त्रिनगर स्वास्थ्य सहायता कक्षका प्रमुख गणेशबहादुर साउदले पनि भारतबाट आउने नेपालीमा सङ्क्रमण कम देखिने गरेको बताउनुभयो । उहाँका अनुसार हिजो २०१ जनाले परीक्षण गराउँदा कसैमा पनि सङ्क्रमण देखिएन् ।

स्वास्थ्य सहायता कक्षका प्रमुख साउदका अनुसार तेस्रो लहरको सङ्क्रमणका क्रममा यो नाकामा एकैदिन सयौं जनामा संक्रमण देखिने गरेको थियो । कैलाली–कञ्चनपुरको सीमा नाकाबाट दैनिक हजारौ नेपालीको आवत जावत हुने गर्छ ।